अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद सुवालले टेबुल ठोक्दै भन्नुभयो: तपाईंहरू त सिंहदरबार कब्जा गर्न पाए पुग्छ नि !

सांसद सुवालले टेबुल ठोक्दै भन्नुभयो: तपाईंहरू त सिंहदरबार कब्जा गर्न पाए पुग्छ नि !


काठमाडौं-नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित बन्नु भएको छ।

सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक थियो। बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो । सोही अनुरुप संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित हुनुहुन्थ्यो।

आफ्नो संशोधन राखिरहेको बेलामा समिति सभापति आरजू राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेर सांसद सुवाललाई आग्रह गर्नासाथ सांसद सुवाल सभापतिमाथि खनिएका हुन् ।

‘नेपालको औषधिहरु गुणस्तरीय नहुँदा डाक्टरलाई सोध्यो भने नेपालको नखाएर विदेशी खानु भन्नुहुन्छ। त्यस्तो उत्पादन गर्न मिल्छ काम नै नलाग्ने ? कम्पनी कुन हो खोइ अनुगमन ? गरिबलाई मार्ने काम सरकारले गर्नुभएन। धनी मात्र बाँच्ने भए अमेरिका गएकै छन् नि,’ उहाँले भन्नुभयो ।

बोल्दाबोल्दै उहाँको भनाइमा व्याख्या लामो भएको भन्दै समिति सभापति आरजु राणा देउवाले छोट्याउन भनेपछि सुवाल जंगिनुभयो । खाद्य स्वच्छता विधेयकको संशोधन गर्नैपर्ने भएकाले संशोधनकर्ताले आआफ्नो भनाइ राख्नेपर्ने उहाँले जिकिर गर्नुभयो । सुवालले अरुलाई केही नभन्ने तर आफ्नो पालोमा छोट्याउन भन्नु उपयुक्त नभएको तर्क गर्नुभयो ।

‘तपाईहरुलाई घोचेको मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए पुग्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? प्रजातान्त्रिक समाजवाद नि थाहा छ, नाटक नै नाटक त हो । बीपि कोइरालालाई तपाईहरुले प्रतिष्ठानमा नै बेच्नुभयो नि,’ उहाँले कटाक्ष गर्नुभयो ।

उहाँले ‘म बोल्दिन’ भनेर उठेपछि केही सदस्यले सम्झाउनु भएको थियो । सांसद सुवालले ६ महिनायता मुलुकमा ४ अर्ब रुपैयाँको तरकारी आयात भएको बताउनुभयो । ‘विषादी भएको तरकारी सरकारले जाँच गर्नु पर्दैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ?,’ उहाँले प्रश्न गर्नुभयो ‘यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’