अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश : गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार खरिदमा आर्थिक चलखेल  

कोशी प्रदेश : गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार खरिदमा आर्थिक चलखेल  

व्यापारीको दबाबमा निर्देशिका जारी


विराटनगर– गर्भवती तथा सुत्केरी महिलाहरुको पोषण स्वास्थ्यमा सुधार ल्याउन कोशी प्रदेश सरकारले अघि सारेको पौष्टिक आहार खरिदमा व्यापारी र कर्मचारीबिच सेटिङ भएको पाइएको छ । व्यापारीको दबाबमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद प्रक्रिया सुरु गरेको पाइएको हो । 

गत आर्थिक वर्षमा कार्यान्वयन हुन नसकेको कार्यक्रम चालु आर्थिक वर्षमा दोब्बर बजेट राखेर निश्चित व्यापारीलाई ठेक्का दिएर आर्थिक चलखेल गर्न खोजिएको देखिएको छ ।

गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार खरिदका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०–०८१ का लागि ५ करोड बजेट विनियोजन गरेको छ । गर्भवती तथा सुत्केरी महिलाहरुको पोषण स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहार खरिद गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९–८० को बजेटमा पहिलो पटक प्रदेश सरकारले २ करोड ५० लाख विनियोजन गरेको थियो । बजेट अनुसारको कार्यक्रम कार्यान्वयनका लागि टेण्डर पनि आह्वान गरियो । ०७९ पुस २८ गते प्रकाशित टेण्डर जेठ १० गते रद्द गरिएको थियो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. वीरेन्द्रकुमार मण्डलले टेण्डर हालेका ५ वटा आपुर्तीकर्तालाई पत्र पठाउँदै ठेक्का रद्द गरिएको जानकारी दिनुभएकाे थियाे । गत आर्थिक वर्षको कार्यक्रममा नेपाल स्वास्थ्य फुड इन्डष्ट्रिज प्रालि, विराटनगर, वीएलसी इन्स्यान्ट फुड प्रालि, काठमाण्डौं, न्युट्रि फुड प्रालि, काठमाण्डौं, विकास फुड प्रोडक्ट प्रालि, काठमाण्डौं, न्यु आनन्द ट्रेड हाउस प्रालि विराटनगर र जय लिंक काठमाण्डौंले टेण्डर हालेका थिए । 

गत आर्थिक वर्ष कार्यान्वयन हुन नसकेको गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार कार्यक्रम चालु आर्थिक वर्षमा व्यापारीको दबाबमा दोब्बर बजेट राखेर ल्याइएको श्रोतको दाबी छ । 

बजेट पारित अगावै टेण्डर 

गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार कार्यक्रमका लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट संसदबाट पारित नहुँदै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मंसिर ८ गते ५ करोडको बजेटको टेण्डर प्रकाशित ग¥यो । मन्त्रालयले स्वास्थ्यका सबै कार्यक्रमको कार्यान्वयन मार्गदर्शन यसअघि एकै पटक जारी गर्ने गरेपनि प्रदेश आपूर्तिबाट खरिद गर्ने गरी पौष्टिक आहार र सिटी स्क्यान मेसिन खरिदका लागि छुट्टै मार्गदर्शन ल्याइएको थियो । जबकि प्रदेश आपूर्तिका अन्य कार्यक्रम र स्वास्थ्य  मन्त्रालय मातहतका निकायहरुबाट सञ्चालन गरिने वार्षिक कार्यक्रमहरुको कार्यान्वयन मार्गदर्शन पुस १८ गते मात्रै स्वीकृत गरिएको थियो ।

सिटी स्क्यान खरिद प्रक्रियाबारे पनि विवाद कायमै छ । मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षका लागि कोशी प्रदेशको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक मार्फत ल्याएको बजेट मंसिर १३ गते पारित भएको थियो । बजेट पारित हुनु अगावै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले टेण्डर आह्वान गरेको हो । 

व्यापारीको दबाबमा निर्देशिका 

पौष्टिक आहार खरिदका लागि व्यापारीको दबाबमा मन्त्रालयले पौष्टिक आहार खरिदका लागि छुट्टै निर्देशिका जारी गरेर हतार हतारमा टेण्डर आह्वान गरिएको श्रोतको भनाई छ ।  

टेण्डरमा पोषण सामग्रीको नाम के राख्नेमा दबाब सिर्जना भएपछि दुईवटा नाम राखी सूचना प्रकाशन गरिएको थियो  ।  संसदबाट पारित हुनु अगावै मन्त्रालयले व्यापारीको दबाबमा एउटा मात्र बस्तु ( आईटम) को मात्र निर्देशिका जारी गरी पोषणका सामग्रीको खरिद सूचना प्रकाशन गर्न लगाइको छ ।

स्वास्थ्य मन्त्रालयका अन्र्तगतका बाँकी कार्यक्रमको बजेट पास भएपछि मात्रै निर्देशिका जारी भएको छ । खरिद सूचनाको मूल्यांकन विधिमा सीमित एक मात्र व्यापारीलाई हुनेगरि विशिष्ट मापदण्ड राखी सूचना प्रकाशन गरिएको छ । सो बस्तु हाल नेपालमा एउटा मात्रै व्यापारीले नेपाल सरकारलाई उपलब्ध गराएको श्रोतको भनाई छ । पोषण सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गत वर्ष खरिद गर्दा नमुना माग गरेको थिएन । जुन आ.व.२०७९–०८० मा प्रकाशित सूचनामा उल्लेख छ । चालु आ.व. २०८०–०८१ को प्रकाशित सूचनामा नमुना माग गरिएको छ । नमुना माग गर्नुको कुनै औचित्य नभएको श्रोतको भनाई छ । अघिल्लो वर्ष पोषण सामग्रीको गुणस्तर जाँचमा ५ वटा शर्तहरु राखिएको थियो ।

चालु वर्षको सूचनामा एउटा मात्र शर्त राखिएपछि  पौष्टिक आहार खरिद गरी १४ वटै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयहरुको गोदाममा लगेर थन्काउने काम मात्रै हुने स्वास्थ्य क्षेत्रका विज्ञको भनाई छ । अघिल्लो वर्षको टेण्डरमा प्रोडक्ट कम्पोजिसन टेष्ट, न्युट्रेसन भ्यालु टेष्ट, माइक्रो न्युट्रेन्ट रेट एण्ड केमिकल टर्थ टेष्ट, माइक्रोबायोलोजी टेष्ट र कन्ट्रामिनल टेष्टको शर्त राखिएको थियो ।  तर चालु आर्थिक वर्षको प्रकाशित सूचनामा पौष्टिक आहार खरिदका लागि प्रोडक्ट कम्पोजिसन टेष्ट मात्रै राखिएको छ । एउटा मात्रै शर्तले निश्चित व्यापारीलाई ठेक्का दिएर ठुलो रकम भ्रष्टाचार गर्ने उद्देश्य राखिएको श्रोतको दाबी छ । 

आपूर्तिकर्ता छनौट गरिँदै

टेण्डर अनुसार पौष्टिक आहार खरिदका लागि ५ वटा आपूर्तिकर्ताले आवेदन दिएको बताइएको छ । चालु आर्थिक वर्षका लागि पनि गत वर्ष रद्द भएको कार्यक्रमका लागि आवेदन दिएकाहरु नै रहेको बुझिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. वीरेन्द्र मण्डलले प्राविधिक प्रस्तावको मूल्याङ्कन चरणमा रहेको बताउनुभयो । प्राविधिक प्रस्तावको काम चाँडै सकिने उहाँको भनाई छ । गत वर्ष ढिलागरि टेण्डर आह्वान गर्दा र निर्देशिकामा स्पष्टता नहुँदा टेण्डर रद्द गर्नु परेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षका लागि बजेट र निर्देशिका आएपछि टेण्डर आह्वान गरिएको डा. मण्डलको भनाई छ । उहाँले भन्नुभयो,‘ कसैको दबाबमा भन्दा पनि बजेट हाम्रो कार्यालयको प्रणालीमा देखियो । बजेट पारित भएको÷नभएकोबारे थाहा भएन । बजेट प्रणालीमा देखियो, निर्देशिका पनि आएपछि प्रक्रिया थालेका हौं ।’ पौष्टिक आहारको खरिदका लागि न्यूनतम शर्त निर्देशिका अनुसार गरिएको उहाँको भनाई छ । गत आर्थिक वर्षको तुलनामा र चालु आर्थिक वर्षमा न्यूनतम शर्त घटाइएकोबारे आफूलाई थाहा नभएको उहाँले बताउनुभयो । 

पौष्टिक आहार खरिदका लागि टेण्डरसँगै जिल्ला अस्पतालहरु र स्वास्थ्य कार्यालयहरुबाट ‘डिमान्ड’ मागिएको उहाँले बताउनुभयो । निर्देशक मण्डलका अनुसार टेण्डरमा उल्लेखित बजेट भन्दा पनि बढी माग आएको छ ।