अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्न पाइन्छ ?: अध्यक्ष ओली

गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्न पाइन्छ ?: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्काउट माथि राजनीति गरेको भन्दै आपत्ति जनाउनुभएको छ।
अदालतको आदेश विपरीत नेपाल स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभएको हो।

स्काउटमा गठबन्धनले हार्छ भनेरै प्रधानमन्त्री अधिवेशन स्थगित गराएको ओलीले बताउनुभयो।
नेकपा एमाले निकट बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्काउटको अधिवेशन रोक्ने प्रधानमन्त्रीको आदेश स्वतन्त्र सामाजिक संस्था माथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो।

स्काउटको संरक्षकको नाताले उहाँले निर्देशन दिन सक्ने भए पनि सो निर्देशन भताभुङ्ग पार्ने नभई सकारात्मक काम गर्नको लागि भएको ओलीले स्पष्ट पार्नुभयो । ‘हस्तक्षेप गर्नेलाई निर्देशन भनिँदैन, विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयारी भइसक्यो, गठबन्धनले नजित्ला जस्तो भयो भनेर रोक्न पाइन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।

अधिवेशनका लागि स्काउटका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई समेत बोलाइसकेको अवस्थामा अधिवेशन रोक्नु देशकै लज्जाको विषय भएको ओलीले बताउनुभयो। पहिला पनि स्काउट भङ्ग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गराउँदै ओलीले अदालतले दिएको आदेश विपरीत प्रधानमन्त्रीले गरेको निर्देशन स्वेच्छाचारी भएको बताउनुभयो ।

अदालतको कामकाज यथावत् गर्न दिनु भन्ने आदेशको विपरीत सरकार सम्मेलन स्थगित गर्न आदेश दिएको भन्दै उहाँले आलोचना गर्नुभयो। ‘इज्जत वेइज्जतको केही ख्याल छैन, कांग्रेसले स्काउटको सम्पत्ति लुटेर हडपेर अहिले पनि खाइरहेको छ’, अध्यक्ष ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको बताउनुभयो। एनआरएनएमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गरेको उहाँको भनाइ छ।