अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा कांग्रेस नेता केशवकुमार बुढाथोकीप्रति श्रद्धाञ्जली

एमाले अध्यक्ष ओलीद्वारा कांग्रेस नेता केशवकुमार बुढाथोकीप्रति श्रद्धाञ्जली


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिवंगत केशवकुमार बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ।

मंगलबार दिउँसाे झापास्थित गिरिजा कोइराला स्मृति भवन पुगेर अध्यक्ष ओलीले कांग्रेस नेता बुढाथाेकीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे ।

झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए। बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको थियो ।

अध्यक्ष ओलीसँगै एमाले काेशी प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री हिक्मत कार्की, एमाले काेशी प्रदेश सभा सदस्य हाेम थापा लगायतले पनि नेता बुढाथाेकीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे थियाे।

करीब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसँग लडिरहेका नेता बुढाथोकी लामो समय भारतमा उपचार गराएर फर्किएपछि एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो।

विसं २००१ असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएको थियो।

नेता बुढाथोकी पञ्चायतकालमा नै झापाबाट तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत राज्य मन्त्री हुनु भएको थियो ।
२०७० सालको संविधानसभा निर्वाचनमा बुढाथोकी झापा क्षेत्र नं ४ बाट निर्वाचित हुँदै सामान्य प्रशासन मन्त्री समेत हुनुभएको थियो ।