झापा-झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन्। चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका ३२१ परिवार सरकारी राहतको पर्खाइमा छन्।
चालु आवको गत कात्तिक २ गतेसम्म ३२१ हात्तीपीडित परिवारलाई रु.५८ लाख २८ हजार ९४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो।
उहाँका अनुसार राहत माग गरिएकामा एक जना मृतकको रु.१० लाख, तीन जना घाइतेका लागि रु.पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर रु.१० हजार, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि रु १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर रु छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु २१ लाख १५ हजार नौ सय रहेको छ।
कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।
मृतक चार जनाको रु ४० लाख, घाइते तीन जनाका लागि रु दुई लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाका लागि रु पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न रु दुई लाख ५२ हजार सात सय र बालीनाली रु १३ लाख ८७ हजार नौ सय गरी रु ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो। हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उहाँको भनाइ थियो।
प्रतिक्रिया