अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खानेपानीको महसुल उठ्न सकेन

खानेपानीको महसुल उठ्न सकेन


नवलपरासी- पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब रु ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा  नतिर्दा सो रकम उठ्न नसकेको हो । 

समितिले  खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिने समय सीमा निर्धारण गरेको थियो । सो समयभित्र तीन लाखमात्रै महसुल भुक्तानी भएको समितिले जनाएको छ । रु ४३ लाख २३ हजार महसुल उठाउन बाँकी भएपछि  समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली  सार्वजनिक गर्ने चेतावनी दिएको थियो । तर १५ दिनको अवधिमा रु तीन लाख २१ हजारमात्र महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले बताउनुभयो ।  अझै रु ४० लाख महसुलबापतको रकम उठ्न बाँकी छ ।

यसबिचमा समितिले वडा नं १ र २ मा तीनजना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ । स्थानीय राजनीतिक दलका नेताले नै महसुल नतिरेको समितिले जनाएको छ । तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारण सभाले निर्णय गरे पनि समितिले साधारण सभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन ।

समितिले केही संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने नौवटा धारा यसअघि नै काटेको थियो । समितिले रामग्राम वडा नं १ र ६ मा रहेका दुईवटा खानेपानी ट्याङ्कीमार्फत एक हजार सात सय बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ । पोखरापालीमा रहेको ट्याङ्कीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । तर कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महसुल तिर्न नसकिने तर्क गर्दै आएका छन् ।