काठमाडौं-काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई व्यवस्थित बनाउने भएको छ।
महानगरले यसका लागि सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र स्थानीय समुदायको क्षमता विकासलाई प्राथमिकता दिने जनाएको छ।
शुक्रबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले चोरी भएका सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई संस्थागत र प्रभावकारी बनाइने बताइन्। यसका लागि कूटनीतिक माध्यम, अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा विदेशमा रहेका नेपाली समुदायसँगको सहकार्यलाई थप व्यवस्थित गरिने उनको भनाइ छ।
डंगोलले सम्पदा चोरी भएको प्रमाण जुटाउन कठिन हुने भएकाले पुराना तस्बिर, भिडियो तथा अन्य विवरणसहित व्यवस्थित अभिलेख राख्नुपर्नेमा जोड दिइन्। साथै धार्मिक तथा सांस्कृतिक सम्पदा हराएमा तत्काल प्रहरीमा उजुरी गर्ने अभ्यासलाई प्रोत्साहन गरिने उनले बताइन्।
महानगरले जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, गुठी, सङ्घसंस्था, टोल सुधार समिति तथा स्थानीय समुदायलाई सम्पदा संरक्षणसम्बन्धी तालिम र जनचेतना प्रदान गर्ने जनाएको छ।
सम्पदा संरक्षणमा स्थानीय समुदायको सक्रियता महत्त्वपूर्ण हुने उल्लेख गर्दै डंगोलले ‘सम्पदा नगर प्रहरी’ अवधारणालाई थप विस्तार गरी सम्पदाको सुरक्षा र निगरानीमा परिचालन गरिने जानकारी दिइन्।
महानगरको यो पहलले विदेशमा रहेका नेपाली सम्पदाको पहिचान, स्वदेश फिर्ती र मौलिक स्थानमा पुनःस्थापनाका लागि संस्थागत आधार तयार गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया