अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रासस सरकार र जनताबीचको पुल बन्नुपर्छ: सञ्चार सचिव सुवेदी

रासस सरकार र जनताबीचको पुल बन्नुपर्छ: सञ्चार सचिव सुवेदी


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले राज्यको एकमात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समितिले जनता र सरकारबीच पुलको काम गर्नुपर्ने बताउनुभएको छ।

राससको ६३औँ वार्षिकोत्सवका अवसरमा आज भद्रकालीप्लाजामा आयोजित विशेष समारोहमा उहाँले सरकारका काम जनता समक्ष पु¥याउने र जनताको अपेक्षा सरकारसम्म पु¥याउन राससले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। 

आधिकारिक, तथ्यपरक र विश्वसनीय समाचार सम्प्रेषणमा राससले ध्यान दिनुपर्ने भन्दै सचिव सुवेदीले सेवा प्रवाहमा सुधारका साथै सेवाग्राहीको अपेक्षाअनुसारका समाचार सामग्री उपलब्ध गराउन निर्देशन दिनुभयो। 

उहाँले सूचना प्रविधिको विकाससँगै सञ्चारका क्षेत्रमा व्यापक परिवर्तन आएको समयमा आम सञ्चारमाध्यमका स्वरूप बदलिएर प्रतिस्पर्धा पनि बढेकाले छिटो समाचार दिने नाममा गलत सूचना प्रवाह हुन सक्नेतर्फ सञ्चारमाध्यम सजग हुनुपर्ने बताउनुभयो।

'छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीमा सञ्चारमाध्यमहरू बेलाबखत निष्पक्ष, सही र आधिकारिक सूचना दिनबाट चुक्न पुगेका छन्। कतिपय अवस्थामा पाठक, स्रोता र दर्शक सही सूचना पाउनबाट बञ्चित भई भ्रमित पनि हुन पुगेका छन्', सचिव सुवेदीले भन्नुभयो, 'यस परिप्रेक्ष्यमा आफूलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाई आधिकारिक, प्रामाणिक र सही सूचना सम्प्रेषण गरी सञ्चारमाध्यमको पहिलो रोजाइ बन्न राससले थप मेहनत गर्नुपर्दछ।'

सचिव सुवेदीले बदलिँदो परिस्थितिमा राससदलाई विश्वस्तरीय समाचार समितिका रुपमा राससको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। मन्त्रालयले आम सञ्चार नीति र ऐन तर्जुमाको काम अघि बढाएको उहाँले जानकारी दिनुभयो। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्रका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्दै यस अभियानमा अभिभावकत्व ग्रहण गर्न सरकारसँग आग्रह गर्नुभयो। आम सञ्चार क्षेत्र अत्यन्त संवेदनशील रहेको जनाउँदै उहाँले आमसञ्चारसम्बन्धी कानुन तत्काल तर्जुमा गर्न अनुरोध गर्नुभयो।  

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सेवाको विविधीकृत र स्तरीय सेवा प्रवाहमा रासस केन्द्रित रहेको बताउनुभयो। 'त्यसका लागि कर्मचारीलाई उत्प्रेरित गर्ने तथा कर्मचारीको वृत्तिविकासमा लागि परेको छौँ', उहाँले भन्नुभयो, 'राससको विषयवस्तुमा देश झल्कनुपर्छ, त्यसका लागि जनशक्तिको पनि विविधीकृत हुनुपर्छ।'

उहाँले सरकारको मार्ग निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाचारको विषयवस्तुलाई गुणस्तरीय बनाइएको बताउनुभयो। राससले मातृभाषामा पनि समाचार सेवा प्रवाह गर्न थालेको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले अबको समाचार समितिको २४सै घन्टा सेवा निरन्तर हुनुपर्ने मान्यताका साथ त्यसको तयारी थालिएको उल्लेख गर्नुभयो। 

महाप्रबन्धक सिद्धराज राईले सेवा विविधीकरणमा केन्द्रित राससले पछिल्लो समय मातृभाषामा पनि समाचार सेवा सुरु गरेको बताउनुभयो। राससलाई विश्वस्तरीय प्रतिस्पर्धी समाचार समिति बनाउन पत्रकार तथा कर्मचारीको क्षमता अभिवृद्धि, संस्थागत तथा संरचनात्मक सुधार थालिएको उहाँले जानकारी दिनुभयो। 

समाचारको गुणस्तर सुधार गर्न हरसम्भव प्रयास गरिएको उल्लेख गर्दै महाप्रबन्धक राईले समाचारादतालाई तालिम र अभिमुखीकरण गर्ने कार्य निरन्तर रहेको बताउनुभयो। उहाँले पछिल्लो एक वर्षमा राससबाट एक लाख ३७ हजार सात सय ९७ समाचार सामग्री सम्प्रेषण भएको जानकारी दिनुभयो। 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले कर्मचारीको वृत्तिविकासमा ध्यान दिन व्यवस्थापनको ध्यानाकर्षण गराउँदै राससलाई प्रभावकारी रुमपा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न सञ्चार मन्त्रालयसँग आग्रह गर्नुभयो। 

रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले कर्मचारीलाई सीप र क्षमताअनुसारको जिम्मेवारी दिन तथा क्रियाशील पत्रकारलाई उचित पारिश्रमिकको व्यवस्था गर्न आग्रह गर्नुभयो। रासस कर्मचारी सङ्घ र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईंले पत्रकार तथा कर्मचारीलाई प्रोत्साहित हुने कार्यक्रम ल्याउन, वृत्तिविकासमा ध्यान दिन, अन्तर्राष्ट्रियस्तरको तालिमको व्यवस्था गर्न सुझाव दिनुभयो। 

सो अवसरमा मन्त्री शर्माले नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससले स्थापना गरेको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार-२०८०’ राजिनन साह र रामबहादुर थापालाई प्रदान गर्नुभयो। उक्त पुरस्कारको राशि जनही रु सात हजार पाँच सय रहेको छ। 

रासस कर्मचारी सङ्घले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार–२०८०’ मनोज लामिछाने र बलबहादुर विश्वकर्मालाई प्रदान गरियो। उक्त पुरस्कारको राशि जनही रु सात हजार सात सय ७७ रहेको छ। नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले स्थापना गरेको ‘रासस पत्रकारिता पुरस्कार–२०८०’ नारायणप्रसाद घिमिरे र मोहम्मद सदरुललाई प्रदान गरियो। उक्त पुरस्कारको राशि जनही रु १० हजार रहेको छ। 

रासस पूर्वकर्मचारी सम्मान राससका पूर्वमहाप्रबन्धक वासुदेव श्रेष्ठलाई प्रदान गरियो। रासस दाङ जिल्ला कार्यलयका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाईको स्मृतिमा स्थापना गर्नुभएको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि रजौरे स्मृति पुरस्कार’ राससका तनहुँ जिल्ला समाचारदाता मिलाकुमारी दरैलाई प्रदान गरियो। 

समारोहमा सञ्चार मन्त्री शर्माले राससले प्रकाशन गरेको ‘रासस अनुभव र अनभूति २०१८-२०८०’ को लोकार्पण गर्नुभएको थियो। पुस्तकमा राससका संस्थापक रामराज पौड्याल, गोविन्द वियोगी र मणिन्द्रराज श्रेष्ठसहित पूर्व कर्मचारीको अनुभव र अनुभूति सङ्ग्रहित गरिएको छ। 

Skip This