अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रसूतिगृहबाट शिशु चोरीको आरोपमा तीन जना पक्राउ

प्रसूतिगृहबाट शिशु चोरीको आरोपमा तीन जना पक्राउ


काठमाडौँ-थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरीको कसुरमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन्।

शुक्राबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो।

सनसिटी अपार्टमेन्ट पछाडि बस्ने महिलाले बच्चा चोरेको प्रहरीले बताएको छ। बच्चा चोरी गर्ने महिलाले सुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ। 

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ। 

गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ। पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन्। मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन्।

बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ। 

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो । 

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो ।