काठमाडौं-नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलले वर्तमान गठबन्धन सरकारमा कार्यक्षमताको अभावको कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ।
आइतबार नेकपा एमाले रामेछाप पार्टी स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले यस्तो बताउनु भएको हो।
अध्यक्ष कँडेलले नेपालको अर्थतन्त्रमा समस्या आउनु आर्थिक मन्दीको कारण नभएको बताउनुभयो। उहाँले दक्षिण एसियामा कुनै आर्थिक मन्दी नभएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘साउथ एसियन मुलुकमा मन्दी छैन, मन्दीमा गएको श्रीलङ्का पुरानो अवस्था भन्दा पनि माथि गइसक्यो, भारत मन्दीमा गएको छैन, बङ्गलादेश भुटान कुनै पनि मन्दीमा गएका छैनन्, चीनमा केही मन्दी आएको भनिन्छ, त्यो पनि सङ्कटको अवस्थामा छैन। यो सरकारको असफलताको कारण आएको मन्दी हो।’
नेपालमा कोभिड पछि अर्थतन्त्र माथि उठ्नु पर्नेमा झन् कमजोर भएको कँडेलले बताउनुभयो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सेटिङका कारण ओरालो लागेको नेपालको अर्थतन्त्र माथि उठ्न नसकेको उहाँले बताउनुभयो।
अहिले देशमा लगानीको वातावरण नै नभएको उहाँले बताउनुभयो । बैठकमा पैसा थुप्रिएर बसेको छ तर लगानी गर्न कोही तयार छैनन्, लगानी नभएपछि रोजगारी, उत्पादन सबै घट्ने नै भयो’, उहाँले भन्नुभयो ।
अर्थतन्त्र समाजको मनोविज्ञानसँग जोडिने विषय भएकोले समाजको मनोविज्ञान उच्च हुँदा अर्थतन्त्र माथि उठ्ने उहाँले बताउनुभयो । ३२ सिटले सरकार चलाएको अवस्था केही हुँदैन भन्ने मनोविज्ञानको कारण नयाँ लगानीको अवस्था नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
सरकारले राजश्व उठाउन नै नसकेको कँडेलले टिप्पणी गर्नुभयो । ‘सरकारले यो वर्ष उठाउने भनेको राजश्वमा १५ प्रतिशत संशोधन गरिसक्यो, यो पनि कार्यान्वयन हुनेवाला छैन, सरकारले अझै अर्को १० प्रतिशत कटौती गर्नेवाला छ, बजेटमा राखेको भन्दा २५ कम आम्दानी हुनेवाल छ’, उहाँले भन्नुभयो ।
अहिले देशको राजश्व प्रशासनलाई अति कमजोर बनाइएको उहाँले बताउनुभयो । अहिलेका अर्थमन्त्रीले पनि सेटिङ गरेर राजश्व निर्माण गर्ने काम गरेकाले उहाँले दाबी गर्नुभयो




प्रतिक्रिया