रूपन्देही-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री तथा विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणप्रति चासो देखाउनु भएको छ।
रुपन्देही २ बाट निर्वाचित सांसदसमेत रहेका पौडेलले समयमै आयोजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभएको हो। सोमबार अस्पतालको निरीक्षणपछि आयोजनाको बारेमा जानकारी लिँदै उहाँले कुनै पनि बहानामा काम ढिला हुन नहुनेप्रति ध्यानाकर्षण गउनुभयो।
उहाँले भन्नुभयो, ‘यो वा त्यो बहानामा आयोजनामा ढिलाइ गर्नु हुँदैन, समयमा सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने गरी आवश्यक परेको समयमा हामी भोलन्टियरली खटिन तयार छौं।’
लुम्बिनी प्रादेशिक अस्पतालमा ५ वर्षमा बनाइसक्ने लक्ष्यका साथ ६ अर्ब १८ करोड ७५ लाख लगानीको १० तले भवन निर्माण प्रक्रिया अघि बढेको छ। जहाँ १२ सय शय्या हुनेछ।
उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, प्रदेशका सांसद, एमाले नेता कार्यकर्ताको साथमा अस्पताल पुगेका पौडेलले यो जनताको जीवनसँग जोडिएको आयोजना भएकाले समयमै काम सुरू गर्न पनि आग्रह गर्नुभयो।
‘५ वर्षे अवधिको लागि क्यालेन्डर बनाएर काम गर्नुस्, तोकिएको अवधिभित्रै भवन निर्माणसहितका संरचना तयार होस्, त्यसो नभए नागरिकस्तरबाट प्रश्न उठ्छ, प्रश्न उठ्ने काम कतैबाट पनि नहोस्’, पौडेलले भन्नुभयो।
अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ।
वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो। यस क्षेत्रको एक सय १४ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल योजना बनेको लामो समयपछि निर्माणको बाटो खुलेको छ।




प्रतिक्रिया