धनुषा-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भएको बताउनुभएको छ । उहाँले खेलकुदमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रियजगत्मा गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै खेलकुदको विकासमा राज्यले उचित लगानी गर्न जरुरी रहेको बताउनुभयो।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आजदेखि सुरु भएको प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रथम मदन भण्डारी महिला हक्की प्रतियोगिताले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो।
उहाँले विद्वान, विदुषीहरूको भूमिका रुपमा रहेको जनकपुरधाममा यस्ता प्रकारको राष्ट्रिय प्रतियोगिताको आयोजनाले खेलकुदको भूमिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा परिचित हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउँदै मुलुकलाई समृद्ध बनाउनमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनभयो।
उहाँले खेलकुदमा रहेको अनुशासन तथा संयमता राजनीतिमा क्षेत्रमा प्रदर्शन हुन जरुरी रहेको बताउँदै स्व मदन भण्डारीले स्वच्छ राजनीतिक प्रतिस्पर्धाले नेतृत्वको विकास हुनु पर्दछ भन्ने मान्यता अहिले पनि उपयोगी भएको र यो खेलमा पनि लागू हुने गरेको बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव एवं धनुषा निर्वाचन क्षेत्र नंं ४ का प्रतिनिधिसभाका सदस्य रघुवीर महासेठले नेपालमा खेलकुद क्षेत्रमा राज्यको लगानी कम भए पनि खेलाडीले खेल क्षेत्रमा गरेको प्रदर्शन सराहनीय भएको बताउनुभयो।
मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा हक्की सङ्घ नेपालका अध्यक्ष अनिलप्रसाद शर्मासहितका वक्ताले राष्ट्रियस्तरमा महिलाका लागि पहिलो हक्की प्रतियोगिता हुन लागेकाले यसले खेलको वातावरण बढाउने बताउनुभयो।
प्रतियोगितामा कर्णालीबाहेकका छ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका टोली गरेर आठ टोलीका एक सय ५० खेलाडी सहभागी रहेका छन् । प्रतियोगिता यही फागुन १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार र कप, द्वितीय हुनेलाई कपसहित रु एक लाख तथा तृतीय हुने टोलीलाई कपसहित रु ५० हजार नगद प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई १० हजार र ‘उमन अफ दी म्याच’ हुनेलाई पाँच हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन्।




प्रतिक्रिया