विराटनगर-दमकको बालुवाटार जग्गा घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दामा मुछिएपछि माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष रेवतराज पुरी (गगन)ले राजीनामा दिनुभएको।
परिवारसहित कोषाध्यक्ष पुरीमाथि सार्वजनिक सम्पत्ति आफ्नो नाममा पारेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
झापाको दमक नगरपालिका-१३ र १४ को सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दाको प्रतिवादी १७२ जनाको सूचीमा पुरी पनि परेका छन्।
उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा दायर मुद्दामा पनि दोषी ठहर भएका छन् । गगनविरुद्ध चार करोडभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै जरिवानासहित सजायको फैसला भएको थियो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै उहाँले राजीनामा बुझाउनु भएको छ ।उहाँले लेखेको राजीनामा पत्रमा आफ्नो पैतृक जमिनसँग सम्बन्धित भई विशेष अदालतले गरेको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको कारण पार्टी छाड्नु परेको बताउनु भएको छ ।

बुबा भगवान् पुरीले २००२ सालदेखि जङ्गल फडानी गरी करिब ६० बिगाहा जमिन जोत भोग गरेको दाबी गर्दै उहाँले २०२१ सालमा बुवाको नाममा २४ बिगाहा र आमा रुपादेवी पुरीको नाममा ४ बिगाहा १४ कट्टा १० धुर गरी जम्मा २९ बिगाहा १४ कट्ठा १० धुर जग्गाको धनिपुर्जा आफ्नो परिवारसँग रहेको बताउनु भएको छ ।
रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ साबिक ‘दमक ६ ग’ को सर्पट नापीको समयमा कित्ता नम्बर ७६०-१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साबिक दमक ६ ग र दमक ५ ख बीचको मार्जिनका सरकारी जग्गाहरू व्यक्तिको नाममा घुसाएर हालसाविक प्रक्रियाबाट दर्ता गरेको ठहरसहित चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपाने तथा सुरु जग्गा दर्तावाला गगनसहितलाई मुद्दा हालिएको हो।




प्रतिक्रिया