अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेरामक्स प्रकरणबारे अनुसन्धान सकियो, अब मुद्दामा जान्छौं: अख्तियार प्रमुख राई

टेरामक्स प्रकरणबारे अनुसन्धान सकियो, अब मुद्दामा जान्छौं: अख्तियार प्रमुख राई


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याउने बताउनु भएको छ।

संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा यसबारे जानकारी दिंदै अख्तियार प्रमुख राईले टेरामक्स प्रकरणमा बयान सकेर प्रमाणको मूल्याङ्कन गर्ने काम भइरहेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याएर मुद्दाको चरणमा जाने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘बयान टुंग्याएका छौं । प्रमाणको मूल्याङ्कन गरिरहेका छौं । चाँडै मुद्दामा जान्छौं ।’

टेरामक्स खरिद प्रकरणमा अख्तियारले तत्कालीन सञ्चारमन्त्री तथा बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग बयान लिइसकेको छ। स्वास्थ्यमन्त्री बस्नेतले सञ्चारमन्त्री छँदा अर्बौ मूल्य बराबरको टेरामक्स खरिदको निर्णय घुसाएर यसमा भ्रष्टाचार गरेको आरोप छ।

 लेखा समितिको बैठकका क्रममा अख्तियार प्रमुख राईले अहिले अख्तियारमा २८ हजार उजुरी रहेको र कतिपय उजुरीबारे छानबिन गरी मुद्दा दर्ता गरिएको जानकारी गराउनुभयो ।

दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस, डेटाको कुल भोल्युम परीक्षण गर्ने टेरामक्स प्रविधिले ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापनको काम गर्छ । टेरामक्सले अपरेटले घोषणा गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्वाइस कल र एसएमएसको कूल भोल्युमको परीक्षण गर्छ । अपरेटरले पहिचान गर्न नसकेको कल र एसएमएसलाई पूर्ण रूपमा नियन्त्रण गर्छ ।