काठमाडौं-नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले समाज कल्याण परिषद्को माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी रहेको बताउनु भएको छ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले देशको लागि आवश्यक नभएका सहायताहरु स्वीकार गर्न नहुनेतर्फ पनि परिषद्को ध्यानाकर्षण गराउनुभयो। उहाँले धर्मको प्रचारबाजी गर्ने लगायतका सहायता पनि समाजकल्याण परिषद्बाट स्वीकृत भइरहेको भन्दै त्यसको आवश्यक नियमन र निगरानी हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘खेतमा गएर मानिसले कुनै धर्मको प्रचार गरिरहेको छ, त्यो कहाँबाट आएको पैसाले भयो। त्यसको मनिटरिङ कसले गर्ने ? केमा हामी लिन्छौँ, केमा हामी लिँदैनौँ, यसको स्पष्ट मापदण्ड बनाउने कि नबनाउने ?’
सांसद बाँस्कोटाले आजको आवश्यकतालाई महसुस गर्ने गरी समाज कल्याण परिषद्सँग सम्बन्धित कानून परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो।




प्रतिक्रिया