काठमाडौँ-इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालसहितका अधिकारकर्मीले सडक तथा सार्वजनिक स्थलमा नागरिकमाथि कुटपिट गर्ने आपराधिक कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल प्रहरी र महानगर प्रशासन लगायत सम्बन्धित सबै निकायसँग माग गरेका छन् ।
अपिलमा काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्यधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको घटनाप्रति खेद व्यक्त गरिएको छ।
अपिलमा भनिएको छ–‘जीविकोपार्जनको अरू विकल्प नभएर राजधानीको सडकमा सानोतिनो व्यापार गर्दै आएका स्वरोजगार नागरिकहरू उपर शृङ्खलाबद्ध रूपमा हुँदै आएको अत्यधिक बल प्रयोगका घटना स्थानीय प्रशासन ऐन, स्थानीय सरकार सञ्चालन ऐनको मात्र होइन, महानगर प्रहरी बल ऐनको समेत उल्लङ्घन भएको छ।’
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले स्थानीय सरकारहरूलाई दिएको नगर प्रहरी बल गठन गर्ने अख्तियारीको दुरुपयोग रोकिनु पर्छ भन्नेमा उनीहरुको जोड छ। स्थानीय तहको नीति, कानुन तथा निर्णय कार्यान्वयनमा अपेक्षित उपलब्धि हासिल गर्न यस्तो प्रहरी संरचनाको कल्पना स्थानीय सरकार सञ्चालन ऐनले गरेको पनि उनीहरुले स्मरण गराएका छन्।





प्रतिक्रिया