अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले हरेक क्षेत्र प्रश्नको घेरामा: विष्णु रिमाल

अहिले हरेक क्षेत्र प्रश्नको घेरामा: विष्णु रिमाल


काठमाडौं-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपालको सबै क्षेत्रमा इमान्दारिताको सङ्कट परेको बताउनुभएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई बुधबार सम्बोधन गर्दै रिमालले राजनीतिक, सामाजिक, निजी, सामुदायिक सबै क्षेत्रमा इमान्दारिताको खाँचो परेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘इमान्दारिता अहिले हाम्रो समाजमा प्रश्नको घेरा भित्र छ, हरेक क्षेत्र अहिले प्रश्नको घेरामा छ, को कति इमान्दार भन्ने प्रश्न उठेको छ, यसले एक किसिमको निराशा बढेको छ, म यति धेरै निराश हुनुपर्छ भन्ने देख्दिन।’

के गर्दा काम गर्ने ठाउँमा एकले अर्कालाई उत्साह भर्न सकिन्छ त्यस तर्फ लाग्नु पर्ने उपमहासचिव रिमालले बताउनुभयो। तर आजको समस्या आपसी विश्वासको समस्या रहेको उहाँले धारणा राख्नु भयो। अहिले विश्वासमा ठूलो खाडल रहेको उहाँले बताउनुभयो।
मुलुक अहिले समस्यामा रहेकोले यसको समाधानको लागि सिङ्गो नेपाली जनता एक हुनुपर्ने उहाँले बताउनुभयो। जनताको मनोबल बलियो पार्न सकियो भने सबै खालका समस्या समाधान गरेर अघि बढ्न सकिने उहाँले स्पष्ट पार्नुभयो।

उपमहासचिव रिमालले नेपालका सबै राजनीतिक दलले शासन सञ्चालन गरिसकेकाले कसले कस्तो काम गर्‍यो भन्ने कुरा व्यवसायी र विद्वत वर्गको बिचमा प्रष्ट रहेको रिमालले बताउनुभयो। म भएको भए यसो गर्थे भनेर कसैले मिठा कुरा गर्न जरुरी नरहेको उहाँको भनाइ छ।

झिल्के कुरा गर्ने मान्छेहरू चाँडै बिक्ने र ओझिलो कुरा बोल्ने मानिसहरू ओझेलमा परेको स्थिति अहिले रहेको उहाँले बताउनुभयो । झिल्के कुराले देशलाई अघि बढाउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो।