अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्थिर मनोविज्ञानले राष्ट्र निर्माणको काम पूरा हुन सक्दैन: शंकर पोखरेल

अस्थिर मनोविज्ञानले राष्ट्र निर्माणको काम पूरा हुन सक्दैन: शंकर पोखरेल


ललितपुर-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिर मनोविज्ञानले राष्ट्र निर्माणको काम पूरा हुन नसक्ने बताउनुभएको छ।

नेकपा एमाले ललितपुरको नवनिर्वाचित जिल्ला कमिटीको शपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्र निर्माणको लागि स्थिर र बलियो राजनीतिक शक्ति आवश्यक रहेको बताउनुभयो।

उहाँले अहिले पुराना असफल भए नयाँलाई रोज्नु पर्दछ भन्ने गलत भाष्य नेपाली समाजमा खडा गर्ने प्रयत्न भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। ‘यस प्रकारको प्रचारबाजी भएको छ’, उहाँले भन्नुभयो।

चिन्दै नचिनेका, जनताको जीवनसँग नजोडिएका, कुनै त्याग र समर्पण नभएका मानिसहरू रातारात सेलिब्रेटी बनेर गएको निर्वाचनमा निर्वाचित भएका पोखरेलले बताउनुभयो। यो सबै निराशा र कुण्ठाको परिणाम भएको उहाँले बताउनुभयो। ‘निराशा र कुण्ठाले समाजलाई सही बाटो दिन सक्दैन, समाजलाई सही बाटोमा कसरी डोर्‍याउने भन्ने कुरा जिम्मेवार राजनीतिक दल र तिनका नेता कार्यकर्ताको कर्तव्य हो भन्ने कुरा मनन गर्न सक्नु पर्छ’, उहाँले भन्नुभयो।

नेतृत्व र नेताको विकल्प पुराना र जिम्मेवार पार्टी भित्रै खोज्नु पर्ने पोखरेलले बताउनुभयो । त्यसले मात्र राजनीतिक स्थायित्व दिने र देशले प्रगति गर्ने पोखरेलको धारणा छ।

मुलुकमा नयाँ र पुराना दलको कुरा गरेर राजनीतिक अस्थिरता कायम गर्ने काम मात्र भएको उहाँले बताउनुभयो । त्यसैले अब नयाँ होइन बलिया राजनीतिक दल निर्माणको काममा अघि बढ्नु पर्नेमा पोखरेलले जोड दिनुभयो। ‘देशलाई अस्थिरताको प्रयोगशाला नबनाऊँ, स्थिरता तर्फ लिएर जाऊँ’, उहाँले भन्नुभयो।


देशको इतिहासलाई बुझेको, नेपाली समाजलाई विश्लेषण गर्न सक्ने र स्पष्ट राजनीतिक दृष्टिकोण भएको नेता अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक कोही नभएको पोखरेलले बताउनुभयो । समाज बदल्न सक्ने नेतृत्व नेकपा एमालेसँग भएकाले जनता अलमलिन नहुने उहाँले स्पष्ट पार्नुभयो।

नेकपा एमालेलाई विभाजन गर्न विभिन्न शक्ति लागेर पार्टी फुटाउने काम गरेका पोखरेलले बताउनुभयो। तर नेकपा एमाले छोटो समयमा नै पुनः स्थापित भएको उहाँको भनाइ छ। तर पनि नेकपा एमालेलाई अझै एकल सरकार चलाउने बलियो शक्ति बन्ने जनमत नपुगेको उहाँले बताउनुभयो।

पार्टी भित्रको आन्तरिक समस्याको कारण पनि एमालले कतिपय ठाउँमा सोचे जस्तो मत प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो। एमालेका नेता कार्यकर्ताले चुनावलाई गम्भीरताका साथ नलिँदा यो अवस्था आएको उहाँको भनाइ छ । मैले वा मेरो मान्छेले टिकट नपाउँदा देखाइदिन्छु भन्ने धारणाले पाटीले सोचेको परिणाम ल्याउन नसकेको उहाँले बताउनुभयो ।
पोखरेलले पार्टी भित्र लोकतान्त्रिक संस्कृति विकास गर्नुपर्ने बताउनुभयो । त्यसले मात्र पार्टीलाई जनताको बिचमा स्थापित गराउन सक्ने उहाँको भनाइ छ।

पोखरेलले आन्तरिक प्रतिस्पर्धालाई हार र जीतको रूपमा लिनु नहुने बताउनुभयो । उहाँले आन्तरिक प्रतिस्पर्धालाई सधैँ जितमा पुर्‍याएर टुङ्ग्याउनु पर्ने स्पष्ट पार्नुभयो । ‘यसलाई हारजितको रूपमा भन्दा पनि निश्चित समयका लागि जिम्मेवारी प्रदान गरेको विषयका रूपमा बुझ्नु पर्दछ, मिलेर पार्टी निर्माणको काममा जुट्नु पर्दछ’, उहाँले भन्नुभयो।

आन्तरिक लोकतन्त्रको उद्देश्य भनेको एकता निर्माण गर्ने नै भएको उहाँले बताउनुभयो । यसले उन्नत संस्कार निर्माणमा सहयोग गर्ने पोखरेलले स्पष्ट पार्नुभयो।

गएको निर्वाचनमा वाग्मती प्रदेशको नतिजा सोचे भन्दा नराम्रो आएको बताउँदै पोखरेलले यो प्रतिकूलतालाई अनुकूलतामा बदल्न पार्टी एकजुट भएर अघि बढ्नु पर्ने पोखरेलले बताउनुभयो । एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कसको के भूमिका हुन्छ भन्ने कुरा बुझेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

राष्ट्रको लागि काम गर्ने बलियो राजनीतिक शक्ति बन्न नसकेको कारण देशले अहिले यो हविगत बेहोर्नु परेको पोखरेलले बताउनुभयो । जनताले नरुचाएका शक्तिले शासन गर्दा देशले नराम्रो हबिगत भोग्नु परेको पोखरेलको टिप्पणी छ। त्यस्ता शक्तिले शासन गर्दा मुलुकलाई अधोगतिमा जानबाट रोक्न नसकिएको पोखरेलले बताउनुभयो।

एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियान अन्तर्गत नेकपा एमालेले मिसन ग्रास रुट सञ्चालन गरेको उहाँले बताउनुभयो। सो कार्यक्रम नेपालको सबैभन्दा ठुलो राजनीतिक सर्वे भएको पोखरेलले दाबी गर्नुभयो।

एमालेले भविष्यको कुरा गरिरहँदा त्यति बेलासम्म मुलुक रसातलमा भासिने अवस्था आएपछि एमाले अस्वाभाविक सत्ता गठबन्धन भत्काउने काममा लागेको उहाँले प्रष्ट पार्नुभयो । त्यसैको परिणाम अहिले नयाँ शक्ति सम्मिलित नयाँ समीकरण बनेको उहाँले बताउनुभयो। पीडा र अन्यायमा परेका जनताहरू एमालेको पार्टी कार्यालय खोज्दै आउने स्थिति बनाउनु पर्ने उहाँले बताउनुभयो। नेकपा एमाले पीडितको पक्षमा उभिनु पर्नेमा पोखरेलले जोड दिनुभयो। राजनीतिक सचेतन कर्म भएकोले पार्टीका नेता कार्यकर्ताले समाजमा सचेतना फैलाउने काम गर्नुपर्ने पोखरेलले बताउनुभयो। सबै एकताबद्ध भएर अघि बढेमा नेपाली समाजलाई नेकपा एमालेले समृद्ध बनाउन सक्ने उहाँले दाबी गर्नुभयो।