अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै शैक्षिक संस्थामा राजनीतीकरण अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण

सबै शैक्षिक संस्थामा राजनीतीकरण अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण


प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतीकरण अन्त्य हुनुपर्ने बताएका छन्। सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताका आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद व्यक्त गर्दै उहाँहरूले यस्तो आग्रह गरेका हुन्।

आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो। भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षाक्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताउनुभयो ।

उहाँहरूले विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरूमा राजनीतिको गन्ध आउन दिन नहुने बताउनु भयो । प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीतिक अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले कुनै शैक्षिक संस्थामा पनि राजनीतीकरण, हस्तक्षेप र खेलवाड हुने छैन भनेर राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनु भयो।

छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उहाँले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा. गौरीशङ्करलाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रूइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असीम ढकाल, डा. भगवान कोइराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बाँस्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक हुनुहुन्छ ।