अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दानबहादुर कार्कीको मुद्दामा पहिलो सुनुवाइ हुँदै, न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी

दानबहादुर कार्कीको मुद्दामा पहिलो सुनुवाइ हुँदै, न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी


काठमाडौं-नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

कार्कीको रिट सुनुवाइका लागि सर्वोच्च अदालतको बेन्च नम्बर ८ मा पेसी तोकिएको छ। उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको हो। पेसी सूचीको क्रमसंख्या (ज) मा रहेकाले आजै रिटमाथि सुनुवाइ हुने अपेक्षा गरिएको छ।

यसअघि कात्तिक ३० गतेका लागि पेसी तोकिए पनि सरकारले सार्वजनिक बिदा दिएका कारण सुनुवाइ हुन सकेको थिएन।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णय प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत रहेको तथा आफूलाई कुनै पूर्वसूचना र सुनुवाइको मौका नदिई पदबाट हटाइएको जिकिर गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

उनले मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गरेका छन्। साथै, मुद्दाको अन्तिम टुंगो नलागेसम्म नवनियुक्त आईजीपी डा. केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन्।