अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी निवासमै मृत फेला

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी निवासमै मृत फेला


गुल्मी-जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन् ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान मृत फेला परेका हुन् । बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि अन्य प्रहरीले निवासमा गएर हेरेका थिए ।

निवासको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए । तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार केसीको मृत्युको कारण खुल्न सकेको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने उनले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत थिए । उनी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । केसी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।