सिरहा-सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट ट्याक्टरका ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका-२, डिगिया टोलका २५ वर्षीय दिपेश कुमार यादव र २२ वर्षीय राजेश कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत कात्तिक ३० गते राति भगवानपुर गाउँपालिका-३ र ५ का विभिन्न टोलबाट ट्याक्टरका ब्याट्री चोरी भएका थिए । चोरी भएको भन्दै मंसिर १ गते प्रहरी चौकी ठाडीमा निवेदन परेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।
खोजतलासका क्रममा सोही दिन साँझ सप्तरीको बलान बिहुल गाउँपालिका-२ बाट भारततर्फ जाँदै गरेको बीआर ३२ एवाई ३४२१ नम्बरको मोटरसाइकलमा तीन थान ब्याट्री फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी नरेश लिम्बुका अनुसार दिपेश कुमार यादवले चलाएको मोटरसाइकलमा शंकास्पद अवस्थामा ब्याट्री लैजाँदै गरेको देखेपछि प्रहरीले रोकेर जाँच गरेको थियो।
सोधपुछ तथा अनुसन्धानका क्रममा बरामद ब्याट्री भगवानपुरबाट चोरी भएका ब्याट्रीसँग मेल खाएपछि दिपेशलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धान गर्दा राजेश कुमार यादवसमेत चोरीमा संलग्न रहेको खुलेपछि दुवै जनालाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट चोरी भएका तीन थान ब्याट्री र मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया