अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छः अध्यक्ष दाहाल

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छः अध्यक्ष दाहाल


काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून निर्माणमा समेत केही प्रभाव परेको बताउनुभएको छ।

उहाँले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित गर्न आफू सजग र सचेत गरेको विश्वास दिलाउनुभयो।

सङ्घीय संसदका विषयमा कार्यरत पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले भन्नुभयो, 'सभालाई कति राम्रो गर्न सक्छु त्यो मेरो खुबी हो, नराम्रो गर्दिन, देश र जनताका निम्ति सबैले केही गरौँ।'

राष्ट्रियसभामा कुनै पनि विधेयक र प्रस्ताव थाँती नरहेको जनाउँदै उहाँले सभाका गतिविधिलाई सञ्चारमाध्यमले आवश्यक स्थान दिनेमा विश्वस्त रहेको बताउनुभयो।

सभाका कामकारवाही र गतिविधि गतिशील र चुस्त  भएमा सञ्चारमाध्यम स्वयम्ले पर्याप्त स्थान दिनेमा ढुक्क हुन सकिन्छ भन्दै अध्यक्ष दाहालले सभालाई कामकाजी, अर्थपूर्ण र व्यवस्थित गर्नका लागि हुने प्रयासमा सञ्चार जगत्को सहयोगको अपेक्षा गर्नुभयो।

अघिल्लो अधिवेशनसम्म कार्य जिम्मेवारी पूरा गर्ने हिसावले राष्ट्रियसभा सफल भएको बताउँदै अध्यक्ष दाहालले  हरेक बैठक, अधिवेशन र कार्यक्रममा सफल हुनेमा दृढताका साथ काम गर्ने विश्वास दिलाउनुभयो।

सो कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय र प्रवक्ता एकराम गिरीलगायत सहभागी हुनुहुन्थ्यो।