अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छः अध्यक्ष ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छः अध्यक्ष ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताउनु भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटवार्तामा ढकालले सो कुरा बताउनु भएको हो।

रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलको नेतृत्व यसका अध्यक्ष सर्गेई कातरिनले गर्नुभएको थियो। भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताउनु भयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताउनुभयो।

ढकालले मंगलबारको भेटले नेपाल र रुसबीचको सम्बन्धलाई थप निरन्तरता दिनुका साथै व्यापार तथा लगानी सम्बन्धलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउनु भयो। उहाँले यो साझेदारीले दुवै देशको आर्थिक वृद्धि र विकासका नयाँ बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । भेलालाई ढकालले नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धको लामो इतिहासबारे जानकारी दिँदै तत्कालीन सोभियत संघले नेपाललाई महत्वपूर्ण, आर्थिक र विकास सहयोग पुर्याएको र नेपालको आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिन योगदान दिएको बताउनुभयो ।उहाँले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो। साथै, यस सहकार्यले नेपाली व्यवसायहरूलाई आफ्ना उत्पादन र सेवाहरू रुसको बजारमा निर्यात गर्न मद्दत गर्न सक्ने उहाँले बताउनुभयो।

यसैबीच ढकालले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन नेपाल सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको जानकारी दिनुभयो । उहाँले सरकारले द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको जानकारी दिनुभयो। उहाँले यो बहुमूल्य अवसरलाई सदुपयोग गर्न र आपसी हितका लागि आकर्षक क्षेत्रमा लगानी गर्न रुसी व्यवसायीहरुलाई आग्रह गर्नुभयो। उहाँले नेपालमा लगानीका लागि सम्भावित क्षेत्रहरु पर्यटन र पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत आयोजना तथा पूर्वाधार, आईसीटी, उत्पादनमूलक क्षेत्र मात्रै रहेको बताउनुभयो।

कार्यक्रममा सेन्ट–पिटर्सबर्गको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र लिपेटस्क क्षेत्रको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले पनि प्रस्तुतिहरू राखेका थिए। त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले रुसी प्रतिनिधिमण्डललाई नेपाल उद्योग वाणिज्य महासंघले नेपालको व्यापारिक वातावरण सुधार गर्न चालेका पहलका बारेमा जानकारी गराउनु भएको थियो । ढकालले आगामी वैशाख १६ र १७ गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुने रुसी संघको उद्योग वाणिज्य संघ र रुसी लगानीकर्तालाई धन्यवाद पनि दिनुभयो।