काठमाडौं-नेकपा एमालेकी सचिव पद्मा अर्यालले देश निर्माण गर्ने क्षमता एमालेसँग मात्रै रहेको दाबी गर्दै पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।
आजदेखि काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिव अर्यालले पार्टीभित्रका कमजोरी पहिचान गरी सुधार गर्दै जनविश्वास पुनः आर्जन गर्नुपर्ने बताइन्।
सचिव अर्यालले पार्टीलाई कसरी बलियो बनाउने र जनताको विश्वास कसरी पुनः प्राप्त गर्ने भन्ने विषय अहिलेको मुख्य प्रश्न भएको उल्लेख गर्दै त्यसका लागि नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
जनताका प्रश्न, गुनासा र सुझाव सुन्न पार्टीका सबै नेता–कार्यकर्ता तयार हुनुपर्ने बताउँदै उनले जनतासँगै बसेर छलफल गर्ने र उनीहरूलाई पार्टीमा आबद्ध गराउने अभियानमा जुट्न आग्रह गरिन्।
‘हामीले जनताका कुरा सुन्ने, जनतासँगै बसेर छलफल गर्ने र उनीहरूलाई पार्टीमा आबद्ध गराउने काममा लाग्नुपर्छ,’ सचिव अर्यालले भनिन्।
सचिव अर्यालले पार्टी अब प्रश्न उठाउने भूमिकामा मात्र सीमित नभई जनताका प्रश्नको जवाफ दिने जिम्मेवारीसमेत लिनुपर्ने बताइन् । प्रश्न गरेर समय खेर फाल्नुभन्दा आगामी राजनीतिक परीक्षामा सफल हुने गरी तयारी गर्नुपर्ने उनको भनाइ थियो ।
उनले आगामी स्थानीय तहको निर्वाचनलाई पार्टीका लागि अर्को राजनीतिक परीक्षाका रूपमा लिनुपर्ने बताउँदै त्यसको सामना गर्न संगठनलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखिन्।
‘हामीलाई समयले साथ दिएन, परिस्थितिले साथ दिएन। अब हाम्रो अगाडि फेरि अर्को राजनीतिक परीक्षण हुँदै छ। त्यसको सामना गर्न हाम्रो शक्तिलाई मजबुत बनाउनैपर्छ। प्रश्न गरेर समय खेर नफालौँ। आउँदै गरेको राजनीतिक परीक्षामा उत्तीर्ण हुने गरी तयारी गर्ने दिशातर्फ अगाडि बढौँ,’ उनले भनिन् ।
पछिल्लो सात महिनाको सरकारको कार्यशैली र अवस्थाबारे टिप्पणी गर्दै अर्यालले सरकारको वास्तविकता देखिन थालेको दाबी गरिन् ।
‘एमाले देश बनाउने पार्टी हो भन्ने पुष्टि भइसकेको छ। बितेका सात महिनाले देखाइसकेको छ। खुट्टी देखिसक्यौँ, अब देश बनाउने पार्टी एमाले नै हो। एमालेलाई बलियो बनाउन जे–जे गर्नुपर्छ, तयार रहनुपर्छ,’ उनले भनिन् ।
अर्यालले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टीका कमजोरी स्वीकार गर्ने, विगतका गल्तीबाट पाठ सिक्ने र नयाँ जिम्मेवारीबोधका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने बताइन् ।
‘हाम्रा सबै कमजोरी यहीँ छाड्नेछौँ। आफ्नो जिम्मेवारीबोध गरेर हामी यहाँबाट जानेछौँ,’ उनले भनिन् ।
उनले असामान्य राजनीतिक परिस्थितिमा आयोजना गरिएको भेलाले पार्टीसामु रहेका चुनौती पहिचान गर्नुका साथै नेता तथा कार्यकर्तामा आत्मविश्वास र उत्साह भर्ने विश्वास व्यक्त गरिन् ।



प्रतिक्रिया