काठमाडौं-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेमाथि दमन गर्न खोजे त्यसको सशक्त प्रतिरोध हुने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी नेता तथा कार्यकर्तालाई प्रतिरोधका लागि तयार रहन निर्देशन दिएका हुन्।
काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको उद्घाटन मन्तव्यमा अध्यक्ष ओलीले सरकारले एमालेमाथि निर्मम हमला गरिरहेको आरोप लगाए। सरकारले फेरि पनि दमन गर्न सक्ने भन्दै त्यसको प्रतिरोध गर्दा महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।
‘सरकारले एमालेमाथि निर्मम हमला गरेको छ। अब सरकारले फेरि हमला गर्न सक्छ। त्यसको प्रतिरोध हुनेछ। त्यसको मूल्य महँगो पर्न सक्छ,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले आफू गिरफ्तार हुँदा सयौँ कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपिट गरिएको स्मरण गर्दै आगामी दिनमा त्यस्तो अवस्था आए अझ ठूलो सङ्ख्यामा कार्यकर्ता सडकमा उत्रिनुपर्ने बताए।
‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला। अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनुपर्छ। सबै तयार हुनु। यो सरकारले कुन बेला के गर्छ, भर छैन,’ अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने।
अध्यक्ष ओलीले वर्तमान सरकार जनताप्रति अनुत्तरदायी बनेको आरोपसमेत लगाए। सरकार बनेपछि देश र समाज उल्टो दिशातर्फ अघि बढिरहेको टिप्पणी गर्दै उनले राज्यको ढुकुटीमा रकम थन्किए पनि पीडितले राहत पाउन नसकेको बताए।
शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बिग्रँदै गएको उल्लेख गर्दै ओलीले अस्पतालबाट बाहिर निकालिएका महिलाले सडकमा प्रसव गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे। सरकारले काम गर्न सक्ने भए पनि जनताको समस्या समाधान गर्न नसकेको उनको आरोप थियो।
पूर्वप्रधानमन्त्री ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा अदालत मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे। राज्यका अङ्ग तथा निकायले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउँदै देशको अस्मिता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न जनता अघि बढ्नुपर्ने अवस्था आएको बताए।
अध्यक्ष ओलीले जेनजी विद्रोहलाई बहाना बनाएर तालिमप्राप्त अपराधी परिचालन गरी वितण्डा मच्चाइएको आरोप पनि लगाए। प्रधानमन्त्री संसद्मा उपस्थित नभएको तथा संसद्मा व्यक्त अभिव्यक्ति रेकर्डबाट नहटाइएको विषयमा समेत ओलीले प्रश्न उठाए।
नेपालजस्तो सानो देशले ठूलो देशको सीमा मिचेको भन्ने अभिव्यक्तिको प्रसङ्ग उठाउँदै उनले संसद्को रेकर्ड राख्नुको औचित्यबारे सभामुखसँग प्रश्न गरेका थिए।



प्रतिक्रिया