काठमाडौं-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रतिशोधका आधारमा आफू वा पार्टीका नेता-कार्यकर्तालाई पक्राउ गर्न खोजे देशभरबाट लाखौँ कार्यकर्ता सडकमा उतार्ने चेतावनी दिएका छन्।
काठमाडौँमा आयोजित एमाले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारविरुद्ध आन्दोलनका लागि पार्टीपङ्क्तिलाई मानसिक र सङ्गठनात्मक रूपमा तयार रहन निर्देशन दिएका हुन्। उनले सरकारको व्यवहार र गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अब दमन सहेर चुप बस्ने पार्टी नभएको बताए।
अध्यक्ष ओलीले यसअघि आफू पक्राउ पर्दा हजारौँ कार्यकर्ता सडकमा उत्रिएको स्मरण गर्दै आगामी दिनमा प्रतिशोध साँध्ने प्रयास भए हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा आउने बताए।
‘मेरो गिरफ्तारीको विरुद्धमा कार्यकर्ता सडकमा उत्रिने कुरालाई सरकारले वैरभावपूर्ण ढङ्गले हेर्यो। सयौँ कार्यकर्ता देशभरि शरीरभरि नीलडाम छन्। अहिलेसम्म कति जना ह्विलचियरमा छन्, कति जना वैशाखी टेकेर हिँडेका छन्। त्यसको जवाफ दिनुपर्छ कि पर्दैन ? किन प्रहार गरेको थियो ?’ ओलीले प्रश्न गरे।
अध्यक्ष ओलीले शान्तिपूर्ण रूपमा सडकमा विरोध प्रदर्शन गर्न पाउने अधिकारमाथि सरकारले हस्तक्षेप गर्न नहुने बताए। सडकमा प्रदर्शन गर्दा लखेट्ने, घर तथा पसलभित्र लुकेका व्यक्तिलाई समेत तानेर ल्याउने कार्य भएको भन्दै ओलीले त्यसलाई प्रतिशोधको संज्ञा दिए।
‘आइन्दा हाम्रो कार्यकर्ता पङ्क्तिलाई त्यस ढङ्गको व्यवहार गर्न खोजियो भने त्यसको मूल्य धेरै महँगो पर्नेछ,’ उनले चेतावनी दिए।
शान्तिपूर्ण प्रदर्शनमा समेत दमन गरिए एमाले चुप लागेर नबस्ने भन्दै ओलीले विगतमा हजारौँको सङ्ख्यामा सडकमा आएका कार्यकर्ता अब लाखौँको सङ्ख्यामा परिचालित हुने दाबी गरे। एमाले बलियो सङ्गठन भएको पार्टी भन्दै उनले आन्दोलनका लागि देशभरका कार्यकर्ता तयार रहनुपर्ने बताए।



प्रतिक्रिया