अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनमोहन अधिकारीलाई ज्येष्ठ नागरिकले सच्चा मित्र र असल नेताको रूपमा सम्झन्छन्: पूर्वराष्ट्रपति भण्डारी

मनमोहन अधिकारीलाई ज्येष्ठ नागरिकले सच्चा मित्र र असल नेताको रूपमा सम्झन्छन्: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीलाई नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका जनताले सच्चा मित्र र असल नेताको रूपमा सम्झने गरेको बताउनु भएको छ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले मनमोहन अधिकारीले ल्याउनुभएको ज्येष्ठ नागरिक सुरक्षा भत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम भएको बताउनुभयो। ‘यसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देश भरिका ज्येष्ठ नागरिकले सच्चा मित्र र असल नेताको रूपमा सम्झन्छन् र सम्मान गर्दछन्’ भण्डारीले भन्नुभयो।

अधिकारी नेपालको समकालीन राजनीतिका निष्कलङ्क र सम्मानित नेता भएको भण्डारीले बताउनुभयो। अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व भएको पनि उहाँले स्मरण गर्नुभयो। राणा शासन र पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी हुने सिलसिलामा उहाँले पटक पटक गरी १४ वर्ष लामो जेल जीवन बिताउनुभएको भण्डारीले बताउनुभयो। गाउँको विकास र मुलुकको अन्तराष्ट्रिय छवि उज्यालो बनाउन अधिकारीको महत्त्वपूर्ण योगदान रहेको भण्डारीको धारणा छ।

मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताको लागि अध्ययन गर्ने पर्ने खुल्ला किताब भएको उहाँले बताउनुभयो । आजका उपलब्धि कसैको निग्रहले दिएको नभई उहाँ जस्तै नेताहरूको त्याग र बलिदानले प्राप्त भएको भण्डारीले स्पष्ट पार्नुभयो ।