अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्वअर्थमन्त्री खतिवडा

पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्वअर्थमन्त्री खतिवडा


काठमाडौँ -पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वलाई पहिलो प्राथमिकतामा राखेर सोह्रौँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिनुभएको छ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।  उहाँले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनमा जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताउनु भयो।

उहाँले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्य प्रणाली निर्माणको आधार तयार गर्ने कुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै प्रश्न गर्नुभयो।

उहाँले सबैको एजेन्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा विरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताउनुभयो। उहाँले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेन्डा भएको पनि बताउनु भयो।

उहाँले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजनाभन्दा फरक बजेट बन्ने बताउनु भयो। उहाँले संविधानले आत्मसात गरेका विषयहरू, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरूलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताउनु भयो।