इलाम–नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ। देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको नीति, विकासको नीतिजस्ता हरेक क्षेत्रका नीति एमालेसँग रहेको दाबी गर्नुभयो।
इलाममा आयोजित निर्वाचन विजयी सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘एमाले सय वर्षको हुँदासम्म हरेक क्षेत्रमा नेपाल समृद्ध भइसक्छ। एमालेको नेतृत्वमा नै देशको विकास हुन्छ’ उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले पहिचानको मुद्दा उठिरहेको सन्दर्भमा हाम्रो पहिलो पहिचान नेपाली भएको बताउनुभयो। ‘पहिलो पहिचान नेपाली हो। धनी भए धनी नेपाली, गरिब भए गरिब नेपाली, व्यक्तिगत पहिचानले कोही सफल हुँदैन’ उहाँले भन्नुभयो ‘पहिला पनि मेची, कोशी अञ्चल हुँदा त्यसरी नै त बाँडिएको थियो । यो ठुलो कुरा होइन, साझा नाम राख्दा केही बिग्रँदैन।’
एउटा जात र व्यक्तिको पहिचानले सबै कुरा समेत्न नसकिने अध्यक्ष ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बहुजाती बहुभाषिक नेपाली हौँ, एकअर्काको भाषा, संस्कृति, जातिलाई सम्मान गरौँ, त्यो पहिचान हो।’
अध्यक्ष ओलीले चुनावअघि इलामको विकासको जिम्मा लिने प्रतिबद्धता जनाएको आफूलाई स्मरण रहेको र त्यो पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ‘त्यो देश विकासका लागि बोलेको कुरा हो। त्यसका लागि काम सुरु गर्छु। २०४८ सालको विजयी सभामा मैले भनेको थिएँ। त्यही कुरा सुहाङले वाचा गर्नुभयो इलामेली जनताको शिर झुक्न दिने छैन। सुहाङको पछाडि एमाले छ, म छु ।’
देशको हितका लागि विकासका लागि भविष्यमा विभिन्न पार्टीसँग सहकार्य हुन सक्ने उहाँको भनाइ छ। अध्यक्ष ओलीले इलाम-२ को उपनिर्वाचन सम्पन्न गर्न लाग्नुभएका इलामेली जनता, सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिनुभयो।




प्रतिक्रिया