काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले हिजोको श्रम सम्बन्धको अवस्था र आजको अवस्थामा आकाश जमिनको फरक रहेको बताउनुभएको छ।
पेसागत महासंघ राष्ट्रिय समितिले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हिजो श्रमिक माथि अति क्रूर र अमानवीय व्यवहार हुने गरेकोमा अहिले परिस्थिति धेरै बदलिएको पोखरेलको बताउनुभयो। ‘श्रमलाई हेर्ने दृष्टिकोण नै बदली सकेको छ’, उहाँले भन्नुभयो।
अहिले पनि श्रमिकमा विभेद र शोषण भए पनि त्यसको प्रकृति फरक भएको उहाँले बताउनुभयो। आजको अवस्थालाई हेरेर ट्रेड युनियन आन्दोलनलाई नयाँ परिभाषित गर्नुपर्ने उहाँको भनाई छ।

ट्रेड युनियनको कारण सुशासन कमजोर भयो, हामी अप्ठेरोमा पर्यौँ भन्ने नकारात्मक धारणा विकास हुँदै गएको उहाँले बताउनुभयो । अहिले अरूलाई सम्मान गर्ने संस्कृतिको अभाव भएको पोखरेलले टिप्पणी गर्नुभयो। समाजले सकारात्मक ढङ्गले नहेर्दा समाज परिवर्तन गर्न नसकिने उहाँको धारणा छ।
हिजो निरङ्कुश व्यवस्था हुँदा जनतालाई राज्यको विरुद्ध उभ्याउने काम भएको भए पनि पोखरेलले अब जनतालाई राज्यको पक्षमा उभ्याउन आवश्यक रहेको पोखरेलले बताउनुभयो। अहिले पनि राज्यका विरुद्ध विद्रोही मानसिकता नै रहेकोले विकास समृद्धिको काममा वाधा भइरहेको उहाँको धारणा छ। ‘अब हामी विद्रोही होइनौँ, राज्यका सहयोगी हौँ, राष्ट्र निर्माता हौँ’, उहाँले भन्नुभयो ।
अहिले राजनीतिका कारणले शिक्षा बिग्रियो भन्ने भाष्य निर्माण गर्ने प्रयास गरिएको भन्दै पोखरेलले आपत्ति जनाउनुभयो । उहाँले नेपालमा शिक्षाको विकास नै राजनीतिज्ञले गरेको दाबी गर्नुभयो । राजनीतिज्ञले गाउँमा गएर शिक्षाको चेतना जगाएको कारण नै नेपालमा शिक्षा विकासको जग बसेको उहाँले स्पष्ट पार्नुभयो । विकास र समृद्धिका सन्दर्भमा अब वस्तुनिष्ठ भएर समीक्षा गर्ने बेला भएको उहाँले बताउनुभयो ।




प्रतिक्रिया