अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको टिप्पणी: सुकुम्बासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगरौँ

एमाले अध्यक्ष ओलीको टिप्पणी: सुकुम्बासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगरौँ


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताउनु भएको छ।

बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने बताउनु भयो । उहाँले गरिब र सुकुम्वासी देख्नै नहुने कुनैपनि सरकारले गर्न नहुने बताउनु भयो।

‘समस्या समाधानमा सुकुम्बासी कहिल्यै पनि बाधक हुँदैन। सुकुम्बासीमाथि ज्यादति ग¥यो भने अनि सुकुम्बासीहरू त्यसको प्रतिरोधमा उत्रिन्छन्,’ ओलीले भन्नुभयो, ‘कहीँ हेप्ने मानिस भेटिएन। अनि, सुकुम्बासीलाई हेप्ने ? कहीँ हेप्ने मानिस भेटिएन, थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीको लालाबाला तर्साएर कुुन बहादुर हुन्छ? त्यसकारण त्यतातिर होइन, समस्या समाधानतर्फ लागौँ।’

गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापन गर्न सकिने भन्दै यत्रो देशमा रहेका यति जनता व्यवस्थापन गर्न सकिने पनि अध्यक्ष ओलीले बताउनु भयो । उहाँले काठमाडौँ उपत्यकामा ४८ सय घरपरिवारलाई घर बनाएर व्यवस्थापन गर्न सकिने भन्दै आवासको समस्या समाधान गर्न सकिने बताउनु भयो।

‘भत्काउने होइन, बनाउने अभियान चलाऔँ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारमा हाम्रो पार्टी जनताको काम गर्न गएको हो।’ उहाँले नक्कली सुकुम्वासीका नाममा डोजर चलाउने गरिएको पनि बताउनुभयो। सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर हुनसक्ने भन्दै बनिबुथो गरेर सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर बन्न सक्ने बताउनुभो।