अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा अब गुट बनाउने छुट कसैलाई छैन: अध्यक्ष ओली

एमालेमा अब गुट बनाउने छुट कसैलाई छैन: अध्यक्ष ओली

हिजाे पार्टी फुटाउनेहरुको के हालत भएको छ ?


कपिलवस्तु-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताउनु भएको छ।

आज (बुधबार) एमाले कपिलवस्तुको १० औं अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा विगतमा धेरै क्षति पुगेको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए। अहिले उनीहरूको के हालत भएको छ ! केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुर्‍यायो भन्ने विषय सबैलाई प्रष्ट छ। पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कम्युनिस्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाएको भन्दै एमाले छोडेर अर्को दल बनाउनेविरुद्ध कटाक्ष गर्नुभयो। ‘हिजो एमालेभित्र रहेका केही स्वार्थीलाई पचेन, डाहा भयो । उनीहरू कहाँबाट सञ्चालित भएका हुन् ? गलत मनसायले पार्टी फुटाए, कम्युनिस्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाए, अझै पनि महसूस गरेका छन् वा छैनन् ?’, उहाँले भन्नुभयो, ‘कपिलवस्तु त्यो सबै षडयन्त्रविरुद्ध एकजुट भएको छ। यसर्थ पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको छ। अब पनि त्यो सम्झनुपर्‍यो।’

अहिले धेरै ठाउँमा आकांक्षी धेरै भएको विषय उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गर्नुभयो। ‘लडे पनि एउटाबाहेक अरूको सिङ भाँचिने नै हो, जित्नेको पनि सिङ हल्लिएर रहने हो, त्यसैले धैर्यता गरौँ, पालो सबैको आउँछ, सकेसम्म चुनावमा नजानुस्, धैर्यता र समझदारी बनाउन सिक्नुस्। उपाय नलागे निर्वाचनका लागि ढिलाइ नगर्नुहोस्’ अध्यक्ष ओलीले भन्नुभयो–‘म १४ वर्ष जेल बस्दा केही ढिलो भएन, एक कार्यकाल पर्खनुस्, अर्कोमा पालो आइहाल्छ नि । भइएन छ भने अर्को ठाउँमा अवसर पाइन्छ नि । सकेसम्म एकले अर्कोलाई त्यागेर अगाडि बढ्नुस् पार्टीले कुनै दिन मूल्यांकन गर्छ, गर्छ ।’

अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट पार्नुभयो । ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन। जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउने छैन’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी पनि दिएको जनाउनु भयो। ‘कपिलवस्तुले उल्लेख्य प्रगति गरेको छ । अवसर पनि पाएको, देशमै ८ मन्त्री हुँदा १ पाएको छ, राष्ट्रिय सभाको उपाध्यक्ष यहीबाट हुनुहुन्छ, प्रदेशमा पनि मन्त्री यहाँबाट हुनुहुन्छ,’ ओलीले भन्नुभयो ‘अहिलेको अधिवेशन सामान्य होइन। लुम्बिनीजस्तो ठाउँमा रहेको प्रदेशमा एमालेको एकल बहुमत नहुनु राम्रो होइन। सरकार बनाउन अनेक थरी शिला खोज्नुपरेको छ। अरुबेला सामान्य हुने पार्टी सरकार बनाउँदा तौल बढी हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउने गरी लाग्नुस्, ३ वटै तहमा स्पष्ट बहुमत ल्याउने मिसनमा जुट्नुहोस्।’

अधिवेशन उद्घाटनमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज खिमलाल भट्टराई, नेताहरू मङ्गलप्रसाद गुप्ता, बृजेश गुप्तालगायतले सम्बोधन गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि रहेका छन्।