काठमाडौं-सरकारले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि कुनै कारबाही नगरिएको स्पष्ट पारेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीको जिम्मेवारी मात्र हेरफेर गरिएको दाबी गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको भन्दै यसलाई कारबाहीका रूपमा बुझ्न नहुने बताए।
पत्रकारहरूले कार्कीलाई प्रहरी संगठनको नेतृत्वबाट हटाउनुको कारणबारे प्रश्न गरेका थिए। जवाफमा पोखरेलले उनको जिम्मेवारी परिवर्तन गरिएको र अब उनले प्रधानमन्त्रीलाई शान्तिसुरक्षासम्बन्धी विषयमा सल्लाह दिने भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
‘उहाँलाई कारबाहीको रूपमा हेर्न हुँदैन। जिम्मेवारी फेरबदल मात्रै भएको हो। उहाँलाई सुरक्षा सल्लाहकारका रूपमा राखिएको छ। अब नयाँ आईजीपी आउनुभएको छ, उहाँले गर्नुपर्ने आवश्यक काम गर्नुहुन्छ,’ पोखरेलले भने।
उनले विभिन्न क्षेत्र तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत संवेदनशील विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव र निर्देशन आएको बताए।
‘धेरै ठाउँबाट र पार्टी (रास्वपा) बाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भनेर निर्देशन आएको थियो,’ उनले भने।
बुधबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। त्यससँगै सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरेको छ।
सरकारले कार्कीको जिम्मेवारी हेरफेरलाई कारबाही नभई नयाँ जिम्मेवारी प्रदान गरिएको विषयका रूपमा व्याख्या गरेको छ।



प्रतिक्रिया