काठमाडौँ-उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आज निरीक्षण गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका बाबजुद उत्कृष्ट कार्यसम्पादन गर्दै आएका ट्राफिक प्रहरीलाई पनि प्रविधिको उपयोगले थप सहज बनाउने बताउनुभयो। उहाँले प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन र आफ्नो कामप्रति जवाफदेही हुन निर्देशन दिनुभयो।
गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरीले प्रचलित कानुन कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो। ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले ट्रापिक जाँचलाई अझ प्रभावकारी बनाइ लागुपदार्थ सेवन ९लापसे०, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोला’, उहाँले भन्नुभयो।
कार्यसम्पादनका क्रममा फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले प्रतिकूल अवस्थाका बाबजुद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनका लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो।
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले ट्राफिक प्रहरीले भोग्नुपरेका समस्या निराकरणका लागि मन्त्रालय सदैव कटिबद्ध रहेको बताउनुभयो। ट्राफिक प्रहरीले सडकमा खटिँदा विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकामा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने उहाँको भनाइ छ।
‘ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्यूनीकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० दीपक थापाले ट्राफिक व्यवस्थापनलाई समयअनुसार परिवर्तन गर्नुपर्ने बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो।




प्रतिक्रिया