काठमाडौँ-कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भदौदेखि कार्यान्वयन गर्ने बताउनु भएको छ।
नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओको लोकार्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
‘बजेट पास गरेर ६ महिनासम्म कामै नगरी बस्ने, आधा वर्ष गइसकेपछि बजेट कार्यान्वयन गर्ने प्रवृत्ति छ,’ मन्त्री साह भन्नुभयो, ‘यो वर्ष भदौदेखि नै बजेट परिचालन गर्नुपर्छ।’
बजेट कार्यान्वयन भन्दा मागको प्रवृत्ति बढेको उहाँले बताउनु भयो। ‘भएको बजेट खर्च नगर्ने, बजेट पुगेन भनेर माग मात्रै गर्छौं,’ उहाँ भन्नुभयो, ‘रकम खर्च भएमा, काम गरेको देखिएमा हामीलाई पनि बजेट पुगेन रकम थप गर्नु पर्यो भनेर माग गर्न सजिलो हुन्छ।’ रकम खर्च हुन नसक्दा आगामी आर्थिक वर्षका लागि रासायनिक मलको बजेट घटेको उहाँले बताउनु भयो।
चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट विनियोजन गरिएको छ। जुन आगामी आर्थिक वर्षका लागि मलको अनुदान रकम कम हो।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु.५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ।




प्रतिक्रिया