अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो हो: सभामुख घिमिरे

संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो हो: सभामुख घिमिरे


काठमाडौँ-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताउनुभएको छ।

६६औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिनुभयो।

“कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरुरी छ”, सभामुख घिमिरेले भन्नुभयो । संसद्मा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उहाले आफैले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्नसकेमा महत्त्वपूर्ण हुने बताउनुभयो।

पूर्वसांसद मञ्चले समय समयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो। पहिलो संसद्देखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखिकरण गर्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने स्थान संसद् नै भएकाले जनतासँग निर्वाचनमा गरेका वाचा पूरा गर्न सधैँ लाग्नुपर्नेमा जोड दिनुभयो।

‘संविधान कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो, त्यसको कार्यान्वयन कानुनबाट हुन्छ’, उहाँले भन्नुभयो, ‘कानुन बनाउने निकाय संसद् हो, सांसद पनि सधैँ त्यतिकै गम्भीर हुनुपर्छ।’ सदनलाई गतिशील बनाउन सदा क्रियाशील हुनुपर्ने र त्यसका लागि सांसद र पूर्वसांसद दुवैको उत्तिकै योगदान रहने अध्यक्ष दाहालले बताउनुभयो।

उपसभामुख इन्दिरा रानाले सदनलाई प्रभावकारी बनाउन सांसद र पूर्वसांसद मिलेर विचारविमर्श गर्नुपर्ने तथा आवश्यक विज्ञ चाहिएमा पूर्वसांसदको ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्लाई व्यवस्थित र मर्यादित बनाउन सांसदहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्दै जनताको समृद्धिमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले सङ्घीय संसद्ले बनाएका कानुन र व्यवस्थाको प्रभाव सातै प्रदेशसभामा पनि पर्ने स्पष्ट पार्नुभयो।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्लाई प्रभावकारी बनाउन सबैभन्दा जिम्मेवार प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष बन्नुपर्नेमा जोड दिँदै संविधानको पालना गरेर संसद्लाई सशक्त बनाउनुपर्ने बताउनुभयो।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयन गराउने प्रमुख भूमिका संसद्को भएकाले कानुन निर्माणदेखि जनताका सवालमा ध्यान दिनुपर्ने बताउनुभयो । पूर्वसभामुख तारानाथ रानाभाटले संसद्मा आएपछि जनप्रतिनिधि र जनताका विषयमा ध्यान दिनुपर्ने तथा संसदीय गतिविधि राम्रो बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दल अझ सशक्त बन्नुपर्ने सुझाव दिनुभयो ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन पूर्वसांसद मञ्चको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । सङ्घीय संसद्को स्थापना २०१६ असार १६ गते भएको थियो । सोही दिनको स्मरणमा दिवस मनाउन थालिएको हो । आजै विश्व संसद् दिवस पनि रहेको छ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले राज्यलाई आवश्यकपर्ने सुझाव दिने तथा पूर्वसांसदको स्वास्थ्य उपचारमा ध्यान दिन आग्रह गर्नुभयो।