काठमाडौं-नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ती विभागले आगामी दुई वर्षमा गर्नुपर्ने महत्वपूर्ण कामहरुको सूचि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ।
विभागले बुझाएको विवरणमा कम्पनी दर्ता, कृषि उत्पादन, वन व्यवस्थापन, पर्यटन, सूचना प्रविधि, रोजगारी सिर्जना, बैंकिङ् व्यवसाय/आर्थिक कसुर, घरजग्गा कारोवार, व्यावसायी, उद्योगी लगायतका सवालहरु समेटिएका छन्। यसैगरी विभागले शेयर बजार तथा निर्माण व्यावसाय क्षेत्रमा देखिएका समस्या सामाधानमा पनि जोड दिएका छन्। ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने पार्टी अध्यक्षको सपना साकार पार्न र राष्ट्रिय संकल्प पूरा गर्न दुई वर्ष भित्र गरिनु पर्ने कामहरुको सूचि तथा विवरण पेश गरिएको विभागका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य मोती दुगडले जानकारी दिनुभयो।
कम्पनी दर्ता, नविकरण लगायतका कार्यलाई एकद्वारबाट तथा डिजिटल प्रणाली मार्फत हुने व्यवस्था मिलाउने विभागले जनाएको छ। रोजगारी सिर्जना गर्दै कृषिमा आत्मनिर्भर हुन सरकारका कृषि फर्महरुलाई ‘कन्ट्याक फार्मिङ्’ को अवधारणाबाट सञ्चालन र विकास गर्ने, चकलाबन्दी खेतीलाई प्रोत्साहन गर्ने, कोशी नदीको दुवै किनारामा सोहि अनुकुल हुने गरि वृहत खेती गर्ने जस्ता विषयहरु समेत विभागले समेटेको छ।
वनजन्य काष्ठ सामाग्रीको आयात प्रतिष्थापन गरि निर्यातको वातावरण बनाउने, साना तथा मझौला उद्योग मार्फत हजारौको रोजगारी सिर्जना गर्ने, वन पर्यटन तथा सफारीलाई प्रवद्र्धन गर्ने, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल अविलम्ब सञ्चालन गरि पर्यटकहरुलाई सहजीकरण गर्ने विषय पनि अध्यक्षलाई बुझाईएको पत्रमा उल्लेख छ।
सुचना प्रविधिको विश्वव्यापी व्यवसायका लागि आवश्यक सवै कानून नभएकाले आवश्यक कानूनहरु बनाउनु पर्ने, डाटा सेन्टरको व्यवस्था गरि २४ सै घण्टा अवरोध नहुने गरि व्यवसाय गर्ने वातावरण बनाउनेमा पनि विभागले जोड दिएको छ। उत्पादनमूलक उद्योगलाई ऋण तिर्न सहजीकरण गर्ने, वन्द रहेको कम्पनी सञ्चालनको वातावरण बनाई रोजगारी सिर्जना गराउने, घर जग्गा व्यवसाय सहज बनाउने, चोरी पैठारी नियन्त्रण गर्ने जस्ता विषय समेत विभागले समेटेको छ।





प्रतिक्रिया