काठमाडौँ-राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सेवाग्राही सञ्चारमाध्यमले दिएका सुझाव र सल्लाहलाई आत्मसात् गरी आफ्ना सेवालाई थप स्तरोन्नति गर्दै लगिने विश्वास दिलाउनुभएको छ।
रासस केन्द्रीय कार्यालयमा आज आयोजित ‘रासससँग सेवाग्राहीका अपेक्षा’ विषयक अन्तरक्रियामा अध्यक्ष झाले विभिन्न मातृभाषामा समाचार सम्प्रेषण र समाचार गुणस्तर सुधारलाई उच्च प्राथमिकता दिइरहेको स्पष्ट पार्नुभयो । “विगतका तुलनामा सेवा विविधीकरण र गुणस्तरीय सेवा प्रवाहमा हरतरहले प्रयास गरिएको छ’, उहाँले भन्नुभयो, ‘आगामी भदौदेखि चौबिसै घण्टा समाचार सम्प्रेषण गर्ने तयारी गरिएको छ।’
राससले समाचार उपलब्ध गराउँदै आइरहेको वेबसाइटलाई छिट्टै ग्राहकमैत्री बनाइने जनाउँदै अध्यक्ष झाले सेवाग्राहीले दिएका सुझावका आधारमा सेवालाई थप परिष्कृत र परिमार्जित गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थाको सबैभन्दा ठूलो विश्वास र सम्पत्ति सेवाग्राही भएकाले उनीहरूका राय, सुझाव र परामर्श लिनका लागि वार्षिक ‘क्यालेन्डर’ नै बनाइएको जानकारी दिनुभयो।
महाप्रबन्धक सिद्धराज राईले राससका सेवा गुणस्तर अभिवृद्धि, समाचार र तस्बिरको एकीकृत सम्प्रेषण, अन्तर्राष्ट्रिय समाचारको ठेट अनुवाद र चाँडो समाचार सम्प्रेषण होस् भन्ने सेवाग्राहीको सुझावलाई संस्थाले आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रासस सञ्चालक सदस्य डिल्लीराम भट्टराईले सेवाप्रवाहमा देखिएका कमीकमजोरीलाई सुधार्ने पाटोमा राससले ध्यान दिँदै गुनासालाई सुन्ने परिपाटीलाई स्थायी रूपमा लैजानुपर्ने बताउनुभयो। नायब महाप्रबन्धक श्याम रिमालले राससबाट उपलब्ध भइरहेको सबै सेवाबारे सेवाग्राही सञ्चारमाध्यमलाई अवगत रहेको उल्लेख गर्दै पछिल्ला समय मातृभाषा र गुणस्तरीय सेवा उपलब्ध गराउन दत्तचित्त रहेको बताउनुभयो।
अन्तरक्रियामा सेवाग्राही सञ्चारमाध्यमका तर्फबाट रासस सेवाका महत्त्वपूर्ण अंशका रुपमा रहेको भिडियो सेवालाई प्रभावकारी बनाउन व्यवस्थापनले विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै समयमै समाचार उपलब्ध गराउने, भाषा शुद्धतालाई ख्याल गर्ने, समाचार अनुरुपको श्रव्य र तस्बिरलाई एकीकृत रूपमा उपलब्ध गराउन सुझाव दिनुभयो।
सरकार र राजनीतिक दलका भाषणभन्दा मानवीय अभिरुचिका अन्य पक्षका सामग्री र विषयवस्तु सम्बन्धित समाचार सम्प्रेषणमा ध्यान दिन सुझाव दिँदै उहाँहरूले राससप्रतिको विश्वसनीयताको पक्षलाई मर्न नदिने गरी काम गर्न आग्रह गर्नुभयो।
सो अवसरमा नायब महाप्रबन्धक राजु शाक्य, नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख शाखा प्रमुख कृष्ण अधिकारी, अङ्ग्रेजी शाखा प्रमुख दीपराज सन्याललगायतले राससको समाचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा सेवाग्राहीले दिएका सुझाव मननयोग्य रहेकाल कार्यान्वयन गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो।




प्रतिक्रिया