काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा आएका बदलाव र चुनौतीका बारेमा युवाहरूको बीचमा पर्याप्त छलफल हुन नसकेको बताउनुभएको छ।
नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित विस्तारित भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिवले बोल्दै पोखरेलले त्यसको परिणाम सामाजिक सञ्जालमा दूषित विचार आउने गरेको बताउनुभयो। आज नेपाल बङ्गलादेश बन्छ भन्नेहरूलाई बङ्गलादेश जुन बाटोमा गइरहेको छ त्यो सही बाटो हो वा होइन भन्ने कुरा सोच्न महासचिव पोखरेलले आग्रह गर्नुभयो। ‘सूचना र प्रविधिका माध्यमबाट जुन प्रकारका विचार सम्प्रेषण भएका छन् त्यसले समाजलाई सही बाटोमा अगाडि बढाउँदैन’, उहाँले भन्नुभयो।
सूचना र प्रविधिलाई सही ढङ्गले प्रयोग गर्दा आममानिसमा सकारात्मक प्रभाव पार्न सकिने उहाँले बताउनुभयो। यसको सही प्रयोग नहुँदा नकारात्मक विचार समाजमा प्रवाह हुँदै जाने पोखरेलको धारणा छ।
यतिबेला मुलुकलाई कुन दिशामा लैजाने भन्ने गम्भीर बहस चलिरहेको पोखरेलले बताउनुभयो। राजनीतिक परिवर्तनको लागि संघर्ष गरेर आएका पुराना राजनीतिक दलको समय सकियो भन्ने खालको भाष्य अहिले निर्माण गर्न खोजिएको उहाँले बताउनुभयो। इतिहास नबोकेका दलले देशको विकास र समृद्धिका लागि काम गर्न नसक्ने विश्व इतिहासले प्रमाणित गरेको उहाँले बताउनुभयो।
नयाँ भनिएका पार्टीहरूले देशमा अस्थिरता मात्र मच्चाउने उहाँले बताउनुभयो। यसले देशले सही गति नलिने उहाँले प्रष्ट पार्नुभयो। अस्थिरताको बिचमा देश विकासले गति लिन नसक्ने पोखरेलले बताउनुभयो। ‘नेपालको सबैभन्दा ठूलो दुर्भाग्य, राज्यलाई राज्यका रूपमा बुझ्ने अवस्था छैन’, उहाँले भन्नुभयो।
राज्य बलियो नहुँदासम्म राज्य माथि नै आक्रमणका घटना हुने उहाँले बताउनुभयो । ‘हाम्रो राज्य माथि विश्वास र भरोसा नभएको समयमा हामी छौँ, किनकि राज्य कमजोर छ’, उहाँले भन्नुभयो।
दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व हुँदा मात्र देश समृद्धिको बाटोमा अघि बढ्ने उहाँले बताउनुभयो। यी तिनवटा कुरालाई जोड्न नसक्दा नेपालले विकासको गति नलिएको उहाँको धारणा छ।
अहिले एमाले अध्यक्ष केपी ओली माथि विभिन्न खालका आरोप लगाइएका बताउँदै उहाँले जसले एमालेको नेतृत्व माथि आरोप लगाएका छन् उनीहरू ती घटनामा संलग्न भएका बताउनुभयो। एमालेका नेताहरूलाई आरोप लगाउनेहरू आफैँ ती घटनामा डामिँदै आएको पोखरेलका भनाइ छ ।
उहाँले अहिले एमाले पार्टी भित्र पनि राजनीतिक अवसरवाद र सांगठनिक अराजकता बढेको बताउँदै त्यसलाई समाप्त पार्नुपर्ने बताउनुभयो। सांगठनिक र वैचारिक काम नहुँदा अवसरवादको विकास हुने उहाँको धारणा छ।
समाजलाई बदल्न बलियो संगठन चाहिने र त्यसको लागि विधि, पद्धति र अनुशासन आवश्यक पर्ने पोखरेलले बताउनुभयो । समाजवाद निर्माणको काम संगठित शक्तिले मात्र गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो। ‘क्षमता नभएका मानिसहरूले समाजवाद निर्माण गर्न सक्दैनन्, योग्यता नभएका मानिसहरूले समाजवाद निर्माणमा काम गर्न सक्दैनन्’, पोखरेलले भन्नुभयो ।
परम्परागत उत्पादन पद्धतिमा जोडिन नचाहने र नयाँ उत्पादन पद्धति स्थापित गर्न नसकिएको कारण युवाहरू बिदेसिने गरेको पोखरेलले बताउनुभयो। आजको युवा पुस्तामा व्यवसाय गर्न नचाहने र जागिर नै खोज्ने प्रवृत्ति बढेकोले पनि बिदेसिन गरेका उहाँको भनाइ छ। अहिलेको पढाइ जोखिम मोल्ने साहस बढाउने खालको नभएको कारण पनि यो समस्या आएको पोखरेलले बताउनुभयो।




प्रतिक्रिया