काठमाडौं-प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरीमा सम्मान गर्न लायक व्यक्तिहरु भएको बताउनु भएको छ ।आज नेपाल प्रहरी श्रीमती संघको ४०औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रथम महिला शाक्यले चौबिसै घण्टा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मान व्यक्त गर्न लायक व्यक्तिहरु भएको बताउनु भएको हो ।
शाक्यले प्रहरी श्रीमानहरुलाई अगाडि बढाउनका लागि श्रीमतीहरुको पनि महत्वपूर्ण योगदान भएको विश्वास व्यक्त गर्नुभयो। उहाँले महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुने भन्दै आपसमा सहयोग आदान–प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले नेपाल प्रहरीका परिवारलाई एक आपसको भावना बुझेर संयमता, धैर्यता र शान्तिपूर्वक अगाडी बढ्न पनि अनुरोध गर्नुभयो।
‘चौबिसै घण्टा देशको लागि, राष्ट्रको लागि समर्पित हुने प्रहरीहरु यो समाजका सम्मान व्यक्त गर्न लायक व्यक्तिहरु नै हुनुहुन्छ। र, आफ्नो श्रीमानलाई अगाडी बढाउनका निम्ति श्रीमतीहरुको महत्वपूर्ण योगदान छ भन्ने मलाई विश्वास छ’, शाक्यले भन्नुभयो, ‘अहिले त महिला प्रहरीहरु पनि धेरै हुनुहुन्छ। अझ महिला प्रहरीहरुलाई कार्यक्षेत्रमा श्रीमानको सहयोग बिना खट्न अवश्य पनि गाह्रो हुन्छ होला। तसर्थ श्रीमान् प्रहरीमा भएपनि, श्रीमती प्रहरीमा भएपनि एकले अर्कोलाई आ–आफ्नो भावना बुझेर, राष्ट्रको ड्युटीलाई बुझेर संयमताका साथ, धैर्यताका साथ आ-आफ्नो परिवार शान्तिपूर्वक अगाडी बढाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु।’




प्रतिक्रिया