काठमाडौं-नेपालमा केही दिनदेखि वर्षा र हिमपात गराइरहेको अर्नब चक्रवातको प्रभाव पूर्ण रूपमा हटेको छ। आइतबारदेखि चक्रवातको प्रभाव हटेसँगै देशभर मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको छ। आइतबार बिहान ८ बजे जारी मौसम बुलेटिनअनुसार यतिबेला देशभर आंशिक बदली रहेको छ। तराई तथा काठमाडौंलगायत उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
त्यसैगरी सिन्धुपाल्चोक र रौतहटका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ। यद्यपि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै छ।

महाशाखाको पाँचदिने मौसम पूर्वानुमान यस्तो छ :
कार्तिक १५ गते (आइतबार)
दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई, उपत्यका तथा खोचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।
कार्तिक १६ गते (सोमबार)
दिउँसो लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।
राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोचहरूमा बिहानको समयमा थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।
कार्तिक १७ गते (मंगलबार)
दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। ती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
राति देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचहरूमा बिहानको समयमा थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
कार्तिक १८ गते (बुधबार)
कोसी प्रदेशको तराईसहित कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
तराई, उपत्यका तथा खोचहरूमा बिहानको समयमा थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।
कार्तिक १९ गते (बिहीबार)
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोसी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराई, उपत्यका तथा खोचहरूमा बिहानको समयमा थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।



प्रतिक्रिया