अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु, कुन सवारीले कति तिर्नुपर्छ ?

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु, कुन सवारीले कति तिर्नुपर्छ ?


काठमाडौं-नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि टोल शुल्क संकलन सुरु भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क निर्धारण गरिएको छ ।

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनले निर्धारित शुल्क तिर्नुपर्नेछ ।

निर्धारित दरअनुसार कार, जिप, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

त्यसैगरी, मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सुरुवाती चरणमा नगद तथा क्यूआर प्रणालीमार्फत शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा शुल्क भुक्तानी गर्ने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिए ।

सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत शुल्क संकलन गरिनेछ । यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ भने शुल्क संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् ।