काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीहरुमा समस्या उत्पन्न भएको बताउनुभएको छ।
बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सहकारी सञ्चालन गर्न नजानेर नभई गैरसहकारी तत्वहरु सहकारीमा घुसेका कारण सहकारीहरुप्रतिको निष्ठा नरहेको बताउनुभएको हो।

वर्तमान सरकार सहकारीमा देखिएका सबै समस्याहरुको समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको दाबी छ। उहाँले भन्नुभयो, ‘सहकारी अचानक ठुला भए । सहकारीका मूल्य मान्यता अनुसार चलेनन्। सम्पुर्ण सहकारी बचतकर्ताको विश्वास कम गर्ने प्रवृति हाबी भयो । हुन त हजारौं सहकारीमध्ये केहीमा समस्या भएको हो। गैरसहकारी तत्वहरु सहकारीमा घुसे। सहकारीहरु गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरे। त्यसले सहकारी प्रतिको निष्ठा रहेन। सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरु प्रवेश गरे । अब सबै सहकारीहरुमा देखिएका समस्याहरु समाधान गरेर अगाडि बढ्छौँ। अगाडि बढाउनुपर्छ।’

हजारौं मध्ये केही मात्र सहकारीहरुमा समस्या देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभर सहकारीको सञ्जाल विस्तार गरेर लैजानुपर्ने उल्लेख गर्नुभयो।
त्यस्तै, उहाँले उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरुको स्थापनासँगै सेवा क्षेत्रमा नविन सोचका साथ अगाडि बढ्न अनुकुल वातावरण बनेको बताउनुभयो।




प्रतिक्रिया