काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको पुँजीगत रकम खर्च गर्ने क्षमता बढाउनु पर्ने बताउनु भएको छ।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले पुँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताउनुभयो। ‘पुँजीगत खर्च गर्ने सामर्थ्यलाई हामीले गुणात्मक रूपमा वृद्धि गर्नुपर्ने दायित्व छ’, पौडेलले भन्नुभयो।
अर्थमन्त्री पौडेलले सार्वजनिक ऋण लिने सन्दर्भमा होसियारी अपनाउनु पर्ने स्थिति आएको बताउनुभयो। कस्तो ऋण लिने, कस्तो ऋण नलिने र लिएको ऋणलाई कुन क्षेत्रमा कसरी खर्च गर्ने भन्ने कुरामा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारी वित्त अहिले दबाबको अवस्थामा रहेको पौडेलले बताउनुभयो। आफू मन्त्री भएदेखि भुक्तानीको लागि दबाब बढ्दै आएको उहाँले जानकारी दिनुभयो। राज्यले भुक्तानी गर्नुपर्ने तर बजेटमा नसमेटिएका भुक्तानीको दायित्व समेत दिनानुदिन बढ्दै आएको पौडेलले बताउनुभयो।
बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको उहाँले बताउनुभयो। विना अध्ययनका, लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेका उहाँले जानकारी दिनुभयो। यसले बजेट निर्माणको प्रणाली भत्कँदै गएको बताउँदै पौडेलले यसबाट बलियो पूर्वाधार निर्माण प्रणालीमा पनि असर गर्ने पौडेलले बताउनुभयो।
पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको महत्त्व बुझेको बताउनुभयो । सरकारले सरकार, निजी क्षत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो। ‘म उच्च स्वरले भन्छु सरकारले निजी क्षेत्रको महत्त्व बुझेको छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको, ढिलो गर्ने छुट नभएको र समय बरबाद गर्ने छुट नभएको कुरा स्पष्ट शब्दमा बताउनुभएको उल्लेख गर्दै पौडेलले अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको जानकारी दिनुभयो । निजी क्षेत्र र सरकार माग्ने र दिने भएर कुरा गर्ने होइन एउटै राउण्ड टेबुलमा बसेर कुरा गरेर काम गर्ने नीतिका साथ सरकार अघि बढेको पौडेलले स्पष्ट पार्नुभयो । समस्या के हो र समाधान के हो भन्ने कुरा सबै बसेर खोज्नु पर्नेमा पौडेलले जोड दिनुभयो।




प्रतिक्रिया