काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार केबल सरकार चलाउनको लागि मात्र नबनेको बताउनुभएको छ।
आज जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस एमाले बीचको समीकरण केबल सत्ता समीकरण मात्र नभएको बताउनु भयो।
‘एउटा सरकारको ठाउँमा अर्को सरकार आयो, एउटा समीकरणको ठाउँमा अर्को समीकरण बन्यो होइन, एउटा प्रवृत्तिका ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, बेठिक प्रवृत्तिका ठाउँमा ठीक प्रवृत्ति र ठीक प्रवृत्तिलाई अघि बढाउने सङ्कल्पका साथ यो सरकार आएको छ’, उहाँले भन्नुभयो।
प्रधानमन्त्री ओलीले सरकारका सबै अङ्गलाई संविधान र कानून बमोजिम चल्न आग्रह गर्नुभयो। तोक, आदेशका भरमा होइन संविधान र कानूनले गरेको मार्गदर्शन अनुसार अघि बढ्न उहाँले आग्रह गर्नुभयो। ‘अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन, अहिलेको सरकारले फलानालाई फसाऊ भन्ने तपाईँहरूलाई आदेश दिँदैन, ढुक्क भएर काम गर्नुस्’, ओलीले भन्नुभयो।

राज्य भएर निर्दोष मानिसलाई फसाएर दोषी करार गर्नु आपराधिक काम भएको उहाँले बताउनुभयो। कसैलाई पनि निर्दोष हुँदा हुँदै दोषी करार गर्नु राज्यको तर्फबाट हुने गम्भीर अपराध भएको ओलीले स्पष्ट पार्नुभयो।
प्रहरी कर्मचारीलाई पूर्वाग्रह वा कुनै प्रभावमा परेर अनावश्यक सरुवा नगर्ने उहाँले प्रष्ट पार्नुभयो । कुनै पनि प्रहरी कर्मचारीले झोला थैला बोकेर कुद्नु पर्ने अवस्था नआउने ओलीले बताउनुभयो। काहीँ कतैबाट अवाञ्छित ढङ्गले प्रभावित हुने कुरालाई अहिलेको सरकारले राम्रो नमान्ने ओलीले अर्थ्याउनुभयो। ‘अहिलेको सरकार भात रोटी खान्छ, घुस खाँदैन’, ओलीले भन्नुभयो।
नेपाली समाजमा अहिले विरोध गर्न, अपमान गर्न, चरित्र हत्या गर्न र कसैलाई गाली गर्न कुनै कारण नचाहिने स्थिति बन्दै गएको ओलीले बताउनुभयो। त्यस्ता कार्यमा संलग्न युवाले त्यतिकै त्यो काम नगरेका ओलीको भनाइ छ। उनीहरूले कतैबाट भत्ता र पारिश्रमिक लिएर त्यो काम गरेका ओलीले दाबी गर्नुभयो। मान्छेले त्यतिकै चिन्दै नचिनेको मन्छेलाई गाली र चरित्र हत्याको काम गर्नै नसक्ने ओलीले बताउनुभयो।
अहिले समाजमा अराजकता फैलाउन विभिन्न शक्ति सलबलाई रहेका बताउँदै ओलीले यसमा सचेत हुन प्रहरीलाई आग्रह गर्नुभयो । त्यस्ता तत्त्वलाई देशमा विकास, अनमनचनय, सुशासन लगायतका कुरामा कुनै चासो नरहेको उहाँले बताउनुभयो। देशलाई अझ अराजकता र अस्थिरता तर्फ लैजान ती तत्त्वहरूले प्रयत्न गरिरहेको ओलीको भनाइ छ । ‘त्यस्ता कुराहरूसँग हामी सचेत हुनुपर्छ, सतर्क हुनुपर्छ’, उहाँले भन्नुभयो।




प्रतिक्रिया