अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छिमेकी मुलुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ: प्रधानमन्त्री ओली

छिमेकी मुलुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्त रूपमा संवाद गरेर समाधान गर्न सकिने बताउनु भएको छ।

पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य-प्रमाणका आधारमा समाधान खोजिएमा समस्या नहुने बताउनु भएको हो।

‘नेपालले सन्तुलत, इमानदारिता र पक्षधरताबिहीनताका आधारमा दुवै छिमेकीसँग अशल सम्बन्ध राख्छ। हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ । कसैको कुभुलो चिताउँदैनौँ। हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिदैंनौँ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौँ। संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छौं। त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ। तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ। हामी विश्व शान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौँ। कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम गर्नु हुँदैन।’

प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गर्नुभयो। उहाँले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट गर्नुभयो।

प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी हुनु युुगान्तकारी काम भएको पनि स्मरण गर्नुभयो।

तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राख्न सक्ने नेताका रुपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताउनुभयो ।