काठमाडौँ-‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु भएको छ।
भोजपुरबाट नागरिकता प्रमाणपत्र पाएलगत्तै काठमाडौँ आएका प्रकाशले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेट्नु भएको हो।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशसँग भेट भएको तस्बिर सार्वजनिक गर्नुभएको थियो।
‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो,’ प्रधामन्त्री ओलीले सोमबार राति सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि!’
‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि प्रकाश चर्चामा आएका थिए।
प्रकाशको कथाव्यथा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिनुभएको थियो।
भोजपुरको षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित घरमै प्रकाशलाई दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवालीले आइतबार नेपाली नागरिकता प्रदान गर्नुभएको थियो।




प्रतिक्रिया