अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाली समाजको विविधता नै नेपाली पहिचान: भौतिकमन्त्री दाहाल

नेपाली समाजको विविधता नै नेपाली पहिचान: भौतिकमन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपाली पहिचान रहेको बताउनु भएको छ। नेपालको सबै जाति, भाषा, संस्कार, संस्कृति तथा विविधताका आधार संरक्षणमा सरकार प्रतिबद्ध रहेको पनि उहाँको भनाई छ।

पूर्वाञ्चल गन्दर्भ सांस्कृतिक उत्थान संघ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौँमा भएको भेटमा उहाँले नेपाली मौलिकता र नेपाली सङ्गीतको संरक्षण साझा दायित्व भएको पनि बताउनुभयो। नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित समेत गर्न जरुरी रहेको भन्दै मन्त्री दाहालले कुनै पनि जात जातिको संस्कृति सङ्कटमा परे राज्यको एउटा परिचायक नै सङ्कट पर्ने समेत बताउनुभयो । सोही कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आवश्यक सहयोगका लागि आफ्नो मन्त्रालय समेत तयार रहेको उल्लेख गर्नु भयो।

त्यस क्रममा संस्थाका अध्यक्ष रबिन गन्दर्भले आफ्नो संस्थाले नेपाली मौलिक सङ्गीतको संरक्षणका लागि देश व्यापी अभियान सञ्चालन गरी रहेको बताउनुभयो। २०७९ सालको माघ २९ गते देखि सातै प्रदेशमा पुग्ने गरी थालेको अभियानका क्रममा कोशी र मदेसका अधिकांश स्थानीय तह सम्म पुगेको उहाँले जानकारी दिनुभयो। बागमतीका समेत धेरै जसो स्थानमा पुगिसकेकाले अभियान अन्य प्रदेश सम्म पुर्‍याइने जनाइएको छ।

 गन्दर्भ जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्नु पर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नु पर्ने, सङ्गीत माथिको हस्तक्षेप रोक्नु पर्ने लगायतका विषयका जागरण फैल्याउन अभियान सुरु गरिएको संस्थाले जनाएको छ। त्यस क्रममा संस्थाको तर्फबाट झापाको कचनवकल गाउँपालिकामा गन्दर्भ संग्रालय, सभा हल, पहुँच मार्ग लगायतका संरचना निर्माण गर्न र गन्दर्भ वस्तिलाई ‘होमस्टे’ को रूपमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरी दिन भन्दै ध्यानाकर्षण पत्र समेत बुझाएको छ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलको संयोजनमा आएको कलाकार सहितको टोलिले विभिन्न साङ्गीतिक प्रस्तुति समेत राखेको थियो । शिव, सृजन, लालबहादुर, सुवास र मनि गन्दर्भ सहितका कलाकारहरूले सारङ्गी, मादल सहित विभिन्न नेपाली मौलिक गीतहरू प्रस्तुत गरेका थिए।