मकवानपुर-हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ ।
आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिनुभयो।
तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रबिकुमार प्रधानले एक हजार ५६० मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेश नगरकोटीले एक हजार ३९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले १७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गरेका छन्।
विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएका थिए। २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष पदमा हार व्यहोरेका तिवारी तेस्रो पटकको प्रयासमा विजयी भएका हुन्।
प्रतिक्रिया